
नेपाल प्रहरीमा सुरु हुन लागेको लिडरसिप एन्ड स्टाफ कलेज(एमपिएस) कार्यक्रम अघि बढाउन अदालतले बाटो खोलेको छ। सो कोर्स रोक्न माग गर्दै २० प्रहरी अधिकृतले दायर गरेको रिटमा सर्वाेच्च अदालतले सोमबार आंशिक रूपमा अन्तरिम आदेश जारी गरेको हो।
सर्वाेच्चका न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौड्यालको इजलासले स्टाफ कलेज कार्यक्रम अघि बढाउन मिल्ने, तर यसलाई बढुवामा अनिवार्य गर्नुअघि कानुन बनाएर मात्र कार्यान्वयन गर्न भनेको छ। हाल प्रहरी ऐन र नियमावलीमा यससम्बन्धी प्रावधान नभएको भन्दै प्रहरी अधिकारी सर्वाेच्च गएका थिए।
संसदमा पुगेको प्रहरी विधेयकमा भने यससम्बन्धी प्रावधान छ। जसअनुसार सो ऐन पास भएपछि मात्र यो कार्यान्वयन हुनेछ।
प्रहरीले आगामी बुधबारदेखि स्टाफ कलेजको प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। २०७० को चैतमा इन्स्पेक्टरमा भर्ना भएको ब्याचदेखि स्टाफ कलेज लागू गर्ने निर्णय भएको छ।