
सरकारले मापदण्ड मिचेर कांग्रेस महासमिति सदस्य दिनेशप्रसाद भट्टलाई राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख बनाएको छ।
प्राधिकरणको कार्यकारी प्रमुखको उम्मेदवार बन्न राजनीतिक दल वा संगठनको सदस्यता नलिएको व्यक्ति हुनुपर्ने मापदण्ड रहे पनि मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई नियुक्त गरेको हो। गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वको सिफारिस समितिले १ फागुनमा भट्ट, सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो।
तर, मापदण्डविपरीत कांग्रेस नेतालाई प्रमुख कार्यकारी बनाइन लागिएको भन्दै सत्तारूढ दलभित्रै मतभेद भएपछि नियुक्ति प्रक्रिया एक महिना रोकिएको थियो। तर, गृहमन्त्री रमेश लेखकले पुर्ख्याैली गृहजिल्ला बैतडीका भट्टलाई नै नियुक्ति गर्ने अडान लिएका थिए भने सहमति नभए फाइल नै अगाडि नबढाउने भन्दै अड्डी कसेका थिए। अन्ततः सरकारले सोमबार भट्टलाई नियुक्त गरेको हो।
भट्ट ०७८ मा थापाथली इन्जिनियरिङ क्याम्पसमा पार्टटाइम लेक्चर रहेकै वेला १४औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए भने ०७४ को चुनावमा कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य उम्मेदवारको सिफारिस गर्दा सूचीमा परेका थिए। १४ मंसिरमा प्रकाशित प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वानसम्बन्धी सूचनाको योग्यता र सर्तको ‘घ’ नम्बर बुँदामा ‘राजनीतिक दल वा संगठनको सदस्यता नलिएका व्यक्ति उम्मेदवार हुन पाउने’ प्रावधान राखिएको थियो।
गृहसचिव दुवाडी नेतृत्वको सिफारिस समितिले ९ पुसमा कार्यकारी प्रमुखका १६ प्रतिस्पर्धीको अंक सार्वजनिक गर्दा बैतडी घर भएका भट्ट ११औँ नम्बरमा थिए। योग्यता, तालिम र अनुभवबापतको अंकका आधारमा सूची सार्वजनिक गरिएको थियो। तर, चित्त नबुझेका उम्मेदवारले पेस गरेको निवेदन र कागजात मूल्यांकनबाट भन्दै दुई दिनमै अर्को सूची सार्वजनिक भयो, जसमा भट्टको अंक २० बाट बढेर २२.५ मा आयो भने १६ जनाको सूचीमा ६ नम्बरमा उक्लिएका थिए।