
सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा खोटाङमा एक विद्यालयसहित सात घर जलेर नष्ट भएको छन् । स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका स्थानीयको साता घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
डढेलो अनियन्त्रित भएर गाउँ पस्दा साबिक डिकुवा गाउँ विकास समिति (गाविस)को वडा नम्बर ६ का अडमे राई, नगेन्द्र राई, हिराशेर राई, पृतिबहादुर राई, रणबहादुर राई, अबिन्द्र राई र हिराधन राईको घर जलेर नष्ट भएको छ । डिकुवामा आगलागीले पुर्याएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सोही डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयवासी एवं डिकुवाका पूर्ववडा सदस्य घनश्याम राईले जानकारी दिए । कक्षा ५ सम्म पढाइ हुने विद्यालयको दुई कोठे प्रशासनिक कार्यालय भवन डढेलोले जलेर नष्ट भएको छ ।
जंगलमा लागेको डढेलो गाउँ पसेर क्षति गर्न थालेपछि नियन्त्रण प्रयास भइरहेको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले जानकारी दिए । ‘साबिक डिकुवा गाविसको वडा नंम्बर १, २, ४, ५ र ६ का सामुदायिक वनमा डढेलो फैलिएको छ । गाउँ पसेको डढेलो नियन्त्रणका लागि स्थानीयवासी, नेपाली सेना, सशस्त्र तथा जनपद प्रहरी खटिएका छन्,’ उनले भने, ‘डढेलो लागेको ठाउँ सुख्खाग्रस्त क्षेत्रमा पर्छ । नियन्त्रण बाहिर रहेको डढेलो गाउँ छिर्दा घरमा लागेको आगो निभाउन पानी छैन । घरमा लागेको आगो समयमा निभाउन नसक्दा ठूलो क्षति भएको छ ।’
दाम्लीको नबेल्खा जङ्गलमा ३ चैतमा सुरु भएको डढेलोले डिकुवाका अन्य घरमा समेत क्षति पुग्ने सम्भावना देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । आगलागी नियन्त्रणका लागि दिक्तेलस्थित रणभीम गण मुडे ब्यारेकबाट खटिएको नेपाली सेनाले अग्नीरेखा निर्माण गरिरहेको वडाध्यक्ष राईले जानकारी दिए ।
जिल्लाको पश्चिमी क्षेत्रमा पार्ने हलेसी तुवाचुङ नगरपालिकामा गत ४ फागुनमा पनि आगलागी भएको थियो । वडा नम्बर ७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको घरबाट सल्किएको आगोले चार घर जलेर नष्ट भएको थियो ।
रातको समयमा भएको आगलागीबाट सात करोड ३० लाख बराबरको क्षति भएको प्रहरीको प्रतिवेदनले देखाएको थियो । खाना पकाउने ग्याँस लिक भएर सल्किएको आगोबाट पीडित बनेका चार घर स्थानीयवासीलाई नगरपालिकाले पहिलो चरणमा २२ लाख राहत रकम उपलब्ध गराएको छ।
आगलागीबाट पूर्णक्षति व्यहोरेका पदमशेर राई र ओइराख राईलाई ९÷९ लाखका दरले तथा आंशिक क्षति व्यहोर्नुभएका प्रकाशचन्द्र गिरी र भरणशेर राईलाई २÷२ लाखका दरले राहत वितरण गरिएको नगर प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । विभिन्न व्यक्ति तथा शुभेच्छुकबाट संकलित राहत रकमको चेक नगरप्रमुख विमला राईले आगलागी पीडितहरुलाई हस्तान्तरण गरेको जनाइएको छ।