
पाकिस्तानीद्वारा मलेसियामा हत्या गरिएकी कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव ११ महिनापछि आज नेपाल ल्याइएको छ। सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना)की परामशदार्ता रञ्जना लम्सालका अनुसार सोमबार दिउँसो तिलमायाको शव काठमाडौं ल्याई पुर्याइएको हो।
२१ महिनाअघि तिलमाया वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् । मलेसिया गएको एक वर्ष बित्न नपाउँदै तनहुँका एक युवक र तिलमायाको हत्या भएको थियो। तिलमायाको एक छोरी छिन्।
आप्रवासन केन्द्रको निरन्तरको प्रयास र सञ्चारमाध्यमहरूबाट भएका सहयोगबाट शव नेपाल ल्याउन सम्भव भएको लम्सालले बताइन् । उनको शव आजै कावासोती ल्याउने र भोलि अन्त्येष्टि गरिनेछ।
बहिनीको शव लिनका लागि तिलमायाकी दिदी निलमाया काठमाडौं गएकी छिन् । शव सडेको अवस्थामा भए पनि ७० वर्षीया आमा धनमायाले हेर्न चाहेकाले घर ल्याउन थालिएको लम्सालले बताइन्।
हत्यालगत्तै तत्काल सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा सुनुवाइ हुन सकेको थिएन । उनको शव नेपाल ल्याइए पनि राहात रकमको लागि पहल भइरहेको र १५-२० दिनमा राहात पनि आइसक्ने आप्रवासन केन्द्रले जनाएको छ ।
नेपालमा वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले राहत रकम उपलब्ध गराउनेछ भने मलेसियामा अदालतको फैसलापछि मात्र हत्या गरेका व्यक्तिबाट क्षतिपूति रकम भराइने लम्सालले बताइन्।
तिलमायाकी दिदी निलमायाका अनुसार गत वर्षको २६ वैशाखमा परिवारसँग अन्तिमपटक सम्पर्क भएको र त्यसको एक सातापछि हत्या भएको खबर आएको थियो। मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुंगो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुने भएकाले शल ल्याउन ढिलाइ भएको हो।
वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ। बोर्डका प्रवक्ता टीकाराम ढकालले पनि पाकिस्तानीमाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिलाइ भएको बताए।
त्यसैगरी, कुवेतमा मृत्यु भएका कावासोती–१५, निवासी ४१ वर्षीय गिरीधारी महतोको शव भोलि नेपाल आउने भएको छ। उनको १० दिनअगाडि मृत्यु भएको थियो।
त्यसैगरी, साउदी अरबमा दुर्घटनामा परी ज्यान गुमाएका मध्यविन्दु–९ निवासी सन्तराम चौधरीको शव पनि नेपाल ल्याइने भएको छ। उनको शव आउन अझै दुई साता जति लाग्ने सामी परियोजनाका परामर्शदाता रञ्जना लम्सालले बताइन्।