
काठमाडौं उपत्यकाभित्र अब बन्ने घरमा अनिवार्य रूपमा ‘सेफ्टी ट्यांकी’ बनाउन उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जोड दिएका छन् । उनले मंगलबार उपत्यकाका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई बोलाएर अनिवार्य ‘सेफ्टी ट्यांकी’ अभियान चलाउन आग्रह गरेका हुन् ।
उनले सो क्रममा आगामी बजेटमा काठमाडौं उपत्यकाको समेट्नैपर्ने योजनाबारे पनि जनप्रतिनिधिसँग सुझाव मागेका थिए । उपप्रधानमन्त्री सिंहले काठमाडौं, भक्तपुर र ललितपुरका नगर प्रमुख र उपप्रमुखहरूसँग उपत्यकालाई व्यवस्थित र बस्नयोग्य सहर बनाउन, यहाँका नदी प्रणाली सुधार्न, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या हल गर्न प्रमुख र उपप्रमुखसँग छलफल पनि गरेका थिए ।
उनले उपत्यकाभित्र बग्ने नदीलाई सफा राख्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले उपत्यकाका नदी प्रणाली स्वच्छ बनाउन ‘सेफ्टी ट्यांकी’ अभियान चलाउनुपर्ने बताए । ‘यहाँ बग्ने नदीलाई स्वच्छ बनाउनुपर्यो । त्यसका लागि अहिले जुन दुर्गन्ध छ, त्यसलाई हटाउन अनिवार्य ‘सेफ्टी ट्यांकी’ बनाउने अभियानमा लाग्नैपर्छ । नयाँ बन्ने घरमा सेफ्टी ट्यांकी बनाउनुपर्यो । जहाँ–जहाँ घर बनिसके, ठाउँ छैन भने १०–१५ घरको एक ठाउँमा सेफ्टी ट्यांकी बनाउनुपर्छ,’ उनले भने, ‘उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ । त्यसलार्ई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेफ्टी ट्यांकीको अभियान नै चलाउनैपर्छ । नत्र, नदी स्वच्छ हुँदैन, दुर्गन्ध हट्दैन ।’
बागमती र धोबीखोला सुधारमा अर्बौं रुपैयाँ खर्च भए पनि सुधार नभएको उल्लेख गर्दै उनले सहरी विकास मन्त्रालय सम्हालेदेखि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेको बताए । त्यसलाई सच्याउँदै सीधै ढल मिसाउन नदिन आवश्यक कामसमेत अघि बढाएको उनको भनाइ छ । छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखले फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता र सफाइ, सहरी पूर्वाधारको विकासमा आउने बजेटमा सम्बोधन गर्नुपर्ने सुझाव दिए ।