मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २८ बुधबार
  • Wednesday, 12 March, 2025
यम बम काठमाडाैं
२o८१ फाल्गुण २८ बुधबार o६:४३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विश्व वायु गुणस्तर प्रतिवेदन– २०२४: नेपाल सातौँ अति प्रदूषित देश, राजधानीमा काठमाडौं आठौँ

स्वच्छ हावा भएका मुलुकको तुलनामा नेपालीले सास फेर्ने हावा १३ गुणा धेरै प्रदूषित, डब्लुएचओको मापदण्डभन्दा नेपालको वायुमा प्रदूषणको मात्रा ८.५६ गुणा बढी, वायु प्रदूषणको चपेटामा विपन्न, बालबालिका र वृद्धवृद्धा

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण २८ बुधबार o६:४३:oo

हावाको गुणस्तर अनुगमन गर्ने स्विट्जरल्यान्डस्थित ‘आइक्यू एअर’को ‘विश्व वायु गुणस्तर प्रतिवेदन–२०२४’ ले नेपालको हावामा प्रदूषणको मात्रा झन्झन् बढ्दै गएको देखाएको छ । प्रतिवेदनअनुसार नेपाल विश्वमै सातौँ अति प्रदूषित मुलुक र काठमाडौं शीर्ष आठौँ प्रदूषित राजधानीमा परेको छ । नेपाल सन् २०२३ मा आठौँ र २०२२ मा १६औँ स्थानमा थियो ।

पछिल्लो प्रतिवेदनअुनसार स्वच्छ हावा भएका मुलुकको तुलनामा नेपालीले श्वास फेर्ने हावा १३ गुणा धेरै प्रदूषित छ । प्रतिवेदनअनुसार सन् २०२४ मा (वार्षिक) नेपालको हावामा धुलोधुवाँकोे कण पिएम–२.५ (रौँभन्दा तीन गुणा मसिना धुलोधुवाँका कण) सरदरमा ४२.८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ । धुलोधुवाँका मसिना कण नाक र मुखबाट सीधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । उत्सर्जित नाइट्रोजन अक्साइड, कार्बनमोनो अक्साइड, सल्फरडाई अक्साइड, नाइट्रेड सल्फेट, एमोनिया, धातुका टुक्रा, कार्बन तथा धातु हावामा धुलोधुवाँको कणमा मिसिँदा वायुमण्डल नै प्रदूषित हुन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार पिएम–२.५ को मात्रा वार्षिक पाँच माइक्रोग्राम प्रतिघनमिटर नाघ्दा प्रदूषित मानिन्छ । नेपालको वार्षिक औसत मापदण्ड त छैन । तर, डब्लुएचओको मापदण्डभन्दा नेपालको वायुमा प्रदूषणको मात्रा ८.५६ गुणा बढी देखिन्छ । नेपालको वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ ले भने पिएम–२.५ को मात्रा २४ घन्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । हिउँदमा काठमाडौं र तराईका सहरमा यो मात्रा तीन सयदेखि चार सयसम्म पनि पुग्ने गरेको छ । 

डब्लुएचओको मापदण्डअनुसार २४ घन्टामा पिएम२.५ को मात्रा १५ माइक्रोग्राम प्रतिघनमिटर छ । नेपालले भने मापदण्ड पुनरावलोकन गर्न त परै जाओस्, आफैँले बनाएको मापदण्डभित्र पनि प्रदूषणको मात्रा कायम गर्न सकेको छैन ।  जैविक इन्धन, धुलोधुवाँ, निर्माण, सवारीसाधन र कृषिजन्यु वस्तु (परालसहित) जलाउँदा तथा ग्रामीण क्षेत्रमा खाना पकाउन प्रयोग हुने दाउरालगायत कारण दक्षिण एसियामा प्रदूषण बढेको प्रतिवेदनले औँल्याएको छ । दक्षिण पूर्वी एसियाली मुलुकमा पिएम २.५ को मात्रा बढ्नुमा सीमापारको धुवाँ र एलनिनोलाई प्रमुख कारकमा समेटिएको छ ।

प्रदूषणको मात्रा धेरै भएका शीर्ष १० मुलुकमा अफ्रिकी र दक्षिण–मध्य एसियाली मुलुक छन्  । अफ्रिकी मुलुक चाडको वायु प्रदूषणको मात्रा वार्षिक ९१.८ माइक्रोग्राम प्रतिघनमिटर छ, जुन १३८ देशमध्ये सबैभन्दा खराब हो । दोस्रोमा बंगलादेश (७८), तेस्रोमा पाकिस्तान ७३.७, चौथोमा कंगो (५८.२) र पाँचौँमा भारत (५०.६) रहेको छ । प्रदूषणमा नेपालभन्दा एक कदम अगाडि ताजकिस्तान (४६.३) छ भने सातौँमा नेपाल (४२.८) छ । आठौँमा युगान्डा (४१), नवौँमा रुवान्डा (४०.८) र दसौँमा बुरुन्डी (४०.३) छन् । 

आइक्यू एअरले विश्वका १३८ मुलुकको हावाको गुणस्तरको लेखाजोखा गर्दा १२ मुलुकमा मात्र डब्लुएचओको मापदण्डको स्वच्छ हावा छ । स्वच्छ हावा भएका (पिएम–२.५ को मात्रा वार्षिक पाँच माइक्रोग्राम प्रतिघनमिटर ननाघेका) देश अष्ट्रेलिया, बहमास, बर्मुडा, एस्टोनिया, ग्रेनाडा, आइसल्यान्ड  र न्युजिल्यान्डलगायत छन् ।

वायु प्रदूषणविज्ञ भूपेन्द्र दास सरकारले मापदण्ड पनि पुनरावलोकन गर्नुपर्ने र मापन केन्द्र थप्नुपर्ने बताउँछन् । ‘डब्लुएचओको मापदण्ड पछ्याउन हामीले पनि अग्रसरता लिनुपर्‍यो । त्यसका लागि काठमाडौंमा सभा, गोष्ठीले मात्र हुँदैन, स्थानीय तहमै कार्यान्वयन हुने गरी योजना बनाएर जानुपर्छ,’ उनले भने । चिकित्सकका अनुसार वायु प्रदूषणले श्वासप्रश्वाससँग सम्बन्धित रोगसँगै क्यान्सरको समेत जोखिम रहन्छ  । नेपालमा वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण बर्सेनि ३५ हजारको ज्यान जाने गरेको विवरण यसअघि डब्लुएचओले नै सार्वजनिक गरेको थियो । वायु प्रदूषणको चपेटामा विपन्न, बालबालिका र वृद्धवृद्धा पर्ने गर्छन् । डब्ल्युएचओले वायु प्रदूषणलाई धुमपान र अस्वस्थ आहारकै श्रेणीमा समावेश गरेको छ ।

काठमाडौंको प्रदूषण झन् बढ्यो 
राजधानी काठमाडौंको हावा पनि सुधार हुन सकेको छैन । काठमाडौंको हावामा प्रदूषणको मात्रा डब्लुएचओको मापदण्डभन्दा (वार्षिक) ९.०२ गुणा धेरै छ । आइक्यू एअरको प्रतिवेदनअनुसार सन् २०२४ मा काठमाडौं शीर्ष आठौँ प्रदूषित राजधानीमा पर्छ । यहाँको हावामा धुलोधुुवाँको कण पिएम–२.५ सरदरमा ४५.१  माइक्रोग्राम प्रतिघनमिटर छ । ०२३ मा काठमाडौं ११औँ प्रदूषित राजधानीमा थियो ।

०२४ मा प्रदूषित राजधानीको सूचीको पहिलो नम्बरमा भारतको नयाँदिल्ली (९१.८) छ । दोस्रोमा चाडको राजधानी नाजामेना (९१.६) र तेस्रोमा बंगलादेशको राजधानी ढाका (७८) परेका छन् । १२१ राजधानीमध्ये आठवटाको हावाको गुणस्तर मात्र डब्लुएचओको मापदण्डभित्र पर्छ । प्रदूषित हावाका कारण नेपालीको आयु औसतमा तीन वर्ष तीन महिनाले घटिरहेको पनि आइक्यू एअरको प्रतिवेदनमा छ । ‘खराब हावाको सिकार बनेका ५० मध्ये ४६ घरपरिवार मध्य र दक्षिण एसियाका छन् ।

सबैभन्दा प्रदूषित सहर पनि यही क्षेत्रका छन्,’ प्रतिवेदनमा छ । वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि हरेक वर्ष ७० लाख मानिसको मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ । डब्लुएचओले ०७८ असोजमा वायु प्रदूषण मापदण्ड पुनरावलोकन गर्दै भनेको थियो, ‘अद्यावधिक निर्देशिकामा प्रस्ताव गरिएअनुसार विद्यमान वायु प्रदूषणको मात्रा घटाउन सकिए पिएम–२.५ सँग सम्बन्धित झन्डै ८० प्रतिशत मृत्यु रोक्न सकिन्थ्यो ।’  

 प्रदूषण नियन्त्रणविज्ञ भूपेन्द्र दास भन्छन्– प्रदूषण नियन्त्रणको ठोस कार्ययोजना बनाएर जानुपर्छ
काठमाडौंमा बसेर नीति, नियम बनाउने अनि काठमाडौंमै सचेतनाका कार्यक्रम गरेर मात्र वायु प्रदूषण घट्दैन । काठमाडौंसहित जुनजुन सहरमा वायु प्रदूषण बढिरहेको छ, त्यहाँ फिल्डबेस कार्यक्रम गर्नुपर्‍यो । क्रस बोर्डर वायु प्रदूषण त छँदै छ, डढेलाका कारण पनि बढिरहेको छ । काठमाडौंमा पनि डढेलोको प्रदूषण भित्रिरहेको छ । तर, राज्यसँग डढेलो नियन्त्रणका लागि नीति, नियम छैन । काठमाडौंमै २० वर्षभन्दा पुराना गाडी गुडिरहेका छन् । ती विस्थापित गर्नुपर्छ । हरियो स्टिकर पाएका गाडीले पनि धुलो फालिरहेका छन्, सरकारले अनुगमन गर्न सकेको छैन । कलकारखाना सहरभन्दा टाढा सञ्चालन गर्ने र आधुनिक प्रविधिको प्रयोग हुनुपर्छ । देशभर नै प्रदूषण बढिरहेकाले ठोस कार्ययोजना बनाएर काम गर्नुपर्छ ।