
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन जारी राख्न मनाउने उद्देश्यले गरेको बहुप्रतीक्षित भेटघाट अपेक्षा गरेकोजस्तो भएन । ट्रम्प र उपराष्ट्रपति जे.डी. भान्सले टेलिभिजन क्यामेराका अगाडि जेलेन्स्की ‘अनादरपूर्ण’ ढंगले प्रस्तुत भएको आरोप मात्र लगाएनन्, रुससँग युद्धविरामका लागि आफ्नो पहललाई स्वीकार नगरेको भन्दै आलोचना गरे । ट्रम्पको शासनकालमा जेलेन्स्कीको वासिंटनसँगको सम्बन्ध सुमधुर नहुने स्पष्ट छ । यो पनि स्पष्ट छ कि ट्रम्पले शान्तिको बदलामा रुसलाई महत्वपूर्ण छुट दिन युक्रेनमाथि अमेरिकी दबाब आगामी दिनमा उल्लेखनीय रूपमा बढ्नेछ । ह्वाइट हाउसमा नोकझोक हुनुभन्दा पहिले पनि ट्रम्प प्रशासनले जेलेन्स्कीको वैधतामाथि प्रश्न उठाइरहेको थियो र युक्रेनमा राष्ट्रपति चुनाव गराउन जोड दिइरहेको थियो । यद्यपि, वर्तमान राष्ट्रपतिलाई हटाउने एक मात्र उद्देश्यका साथ हतारमा चुनाव गर्नु देशका लागि विपत्तिको संकेत हुन सक्छ ।
युक्रेनमा रुसको पूर्णस्तरीय आक्रमणअघि जेलेन्स्कीको राष्ट्रपति पदका लागि अनुमोदन मूल्यांकन २८ प्रतिशत र उनको पार्टीका लागि ११ प्रतिशतजति थियो । रुसको पूर्णस्तरीय आक्रमणले युक्रेनीलाई राष्ट्रपतिको समर्थन गर्न बाध्य तुल्यायो र उनको लोकप्रियता कीर्तिमानी तहमा पुग्यो । यद्यपि, विगत दुई वर्षमा उनको अनुमोदन दर निरन्तर गिरावटमा छ । सर्वेक्षणका अनुसार जेलेन्स्कीमाथिको विश्वास सन् २०२४ को अप्रिलमा ५४ प्रतिशतबाट जनवरीमा ४९ प्रतिशतमा झरेको छ । यद्यपि यो ट्रम्पले दाबी गरेजस्तो भने होइन । तर, मे २०२२ मा उनीप्रतिको विश्वास अधिक थियो । जेलेन्स्कीको घट्दो लोकप्रियतामा धेरै कारक तत्वले योगदान दिएका छन्, जसमा उनको प्रशासनअन्तर्गत व्यापक भ्रष्टाचार र जारी युद्धका कारण बढ्दो थकान समावेश छ । आफ्नो कमजोरीलाई राम्रैसँग बुझेका जेलेन्स्कीले स्पष्ट पारेका छन् कि उनी प्रतिस्पर्धा गर्ने सहज अवस्थामा छैनन् । उनका लागि जोखिम उच्च छ, किनकि यदि उनी पुनः निर्वाचित हुन सकेनन् भने उनीविरुद्ध भ्रष्टाचारको अभियोजन वा आफ्ना प्रतिद्वन्द्वीबाट विभिन्न प्रतिशोध सामना गर्न सक्छन् । यदि तुरुन्तै चुनाव भयो भने उनी हार्नेछन् भन्ने सर्वेक्षणले देखाइसकेका छन् ।
- राष्ट्रपति चुनावले शान्तिपूर्ण समाजलाई त खतरनाक रूपमा ध्रुवीकरण गरिदिने गर्छ, जुन पछिल्लो समय अमेरिकामै पनि देखियो । युद्धग्रस्त समाजमा यस्तो ध्रुवीकरणले धेरै हानि गर्छ । युक्रेनमा हतारमा गरिने चुनावले खासमा रुसी राजनीतिक योजनालाई सहयोग पुग्न सक्छ ।
जेलेन्स्कीका लागि एक शक्तिशाली प्रतिद्वन्द्वी पहिले नै देखा परेका छन् । उनी हुन् फेब्रुअरी २०२४ सम्म युक्रेनको सशस्त्र सेनाको कमान्डर–इन–चिफको रूपमा काम गर्ने चारतारे जनरल भलेरी जालुझ्नी । यदि जालुझ्नीले राष्ट्रपतिको चुनावमा भाग लिए भने उनले जेलेन्स्कीलाई हराउने सर्वेक्षणले देखाएका छन् । उनीमाथि जनताको विश्वास उच्च छ । जनवरीमा ७२ प्रतिशतले उनीप्रति समर्थन जनाएका थिए । यद्यपि २०२३ मा असफल युक्रेनी प्रतिआक्रमणपछि राष्ट्रपतिले जालुझ्नीलाई बर्खास्त गरे, जुन युक्रेनमा उनको लोकप्रियता पनि एक कारक हुन सक्छ भन्ने अनुमान गरिएको छ । जनरललाई बेलायतमा युक्रेनी राजदूतको रूपमा सेवा गर्न विदेश पठाइएको थियो, जुन पदमा उनी अझै पनि छन् । अहिलेसम्म जालुझ्नीले चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छैनन्, यद्यपि उनले आफ्नो मन परिवर्तन गर्ने कुनै ग्यारेन्टी छैन । यदि उनी बाहिर रहे भने किरिलो बुडानोभजस्ता अन्य सैन्य व्यक्तित्वले कदम चाल्न सक्छन् । युक्रेनका गुप्तचर प्रमुख बुडानोभको सार्वजनिक विश्वास मूल्यांकन ६२ प्रतिशत छ । एक वर्षसम्म मिडियामा हाई–प्रोफाइल उपस्थितिपछि उनी हालै सार्वजनिक नजरबाट गायब भए । जेलेन्स्कीको कार्यालयले उनलाई हटाउने योजना बनाएको हल्ला फैलिएको छ, जसको परिणामस्वरूप उनी अचानक पछि हटे । तर, अभियान सुरु भएपछि उनी फेरि देखा पर्न सक्छन् ।
बक्सिङ च्याम्पियन ओलेक्जेन्डर उसिक सम्भावित बलियो उमेद्वार बन्न सक्छन् । पूर्वहास्य कलाकार राष्ट्रपति बनेको देशमा एक सफल खेलाडी असम्भव दाबेदारजस्ता देखिँदैनन् । यद्यपि, उनले कुनै पनि राजनीतिक महत्वाकांक्षा सार्वजनिक गरेका छैनन् । मतसर्वेक्षणमा उनको लोकप्रियता ६० प्रतिशतजति छ । त्यसपछि पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्को छन्, जसको अनुमोदन मूल्यांकन न्यून छ । उनी जेलेन्स्कीको खतरनाक प्रतिद्वन्द्वी बनेका छन् । सन् २०१९ देखि उनीविरुद्ध १३० भन्दा बढी आपराधिक मुद्दा चलाइएको छ, जसमा रुसले कब्जा गरेको डोनबास क्षेत्रबाट कोइला आपूर्ति योजनालाई अनुमोदन गरेकोमा उनलाई देशद्रोहको आरोप लगाइएको छ । पोरोसेन्को जेलेन्स्कीको एक स्पष्ट आलोचक हुन् र उनले आफ्नो राजनीतिक महत्वाकांक्षा लुकाइरहेका छैनन् । उनी अमेरिका गएका छन् र ट्रम्पको टोलीसँग भेटेका छन् । फेब्रुअरीमा जब उनले म्युनिख सुरक्षा सम्मेलनमा जान खोजे, उनलाई अनुमति दिइएन । उनी अब ‘राष्ट्रिय सुरक्षाको आधारमा’ राज्यद्वारा लगाइएको प्रतिबन्धको सामना गरिरहेका छन्, जसमा सम्पत्ति रोक्का पनि समावेश छ । प्रतिबन्धको सन्देश स्पष्ट छ, पोरोसेन्को राष्ट्रपतिको दौड सुरु हुनुभन्दा पहिले नै बाहिरिनेछन् । राजनीतिक उत्पीडनको यस सन्दर्भमा अन्य सम्भावित प्रतिद्वन्द्वी अगाडि आएका छैनन् । प्रतिस्पर्धा गर्न धेरै डराएका छन् ।
विपक्षीलाई जेलेन्स्कीले कसरी सम्हाल्छन् भन्नेबारे चिन्ता बढ्दै गएको छ । तर, अहिलेसम्म उनका सहयोगीबाट कुनै कडा सार्वजनिक आलोचना आएको छैन । ह्वाइट हाउसमा भएको टकरावपछि युरोपेली नेताले उनको समर्थन व्यक्त गरे । यसले जेलेन्स्कीलाई स्वदेशमा अस्थायी रूपमा बढावा दिएको छ, तर यो कति समयसम्म टिक्न सक्छ भन्ने कुरा स्पष्ट छैन । तितो राजनीतिक प्रतिद्वन्द्विता र प्रतिशोधबाहेक युक्रेनी राजनीतिक दृश्य पनि समाजभित्र निरन्तर विभाजनले अंकित छ । युद्धले भावनालाई तीव्र बनाएको छ र देशलाई विभाजित गरेको छ, जसले गर्दा अस्थिर अवस्था सिर्जना भएको छ । अति राष्ट्रवादीहरूले केही भागमा प्रभुत्व मात्र जमाएका छैनन्, युद्धमा सक्रिय सहभागीको रूपमा पनि सशक्त छन् । समाजको अझै पनि एउटा हिस्सा छ, जुन रुस समर्थक झुकाव राख्छ र द्वन्द्व जारी राख्न चाहँदैन । यदि यो अस्थिर अवस्थामा विदेशबाट चुनाव लादियो भने यो रुसी आक्रमण वा युक्रेनको औद्योगिक केन्द्रबिन्दु गुमाउनुभन्दा बढी विनाशकारी साबित हुन सक्छ । खतरा यो मात्र होइन कि एकतिहाइ जनसंख्या मतदान गर्न असमर्थ हुनेछ र चुनावको वैधतामाथि प्रश्न उठ्न सक्छ । वास्तविक खतरा यो हो कि मतदानले एउटै मतपत्र खसाल्नुअघि नै सबैविरुद्ध सबैको लडाइँ सुरु हुन सक्छ । पुनः निर्वाचित हुनेमा सशंकित अहिलेको प्रशासन र परिवर्तनका लागि तत्पर राजनीतिक प्रतिद्वन्द्वीले सामाजिक विभाजन ल्याउन सक्छन् । सेना र सुरक्षा एजेन्सीलाई कदम चाल्न बाध्य पार्न सकिन्छ, जसले सम्भावित रूपमा विस्फोटक मिश्रणलाई थप्छ ।
यदि राष्ट्रपति चुनावले शान्तिपूर्ण समाजलाई खतरनाक रूपमा ध्रुवीकरण गर्न सक्छ भने त्यो हामीले संयुक्त राज्य अमेरिकामा देखेका छौँ । युद्धको समयमा तिनीहरूले धेरै खराब गर्न सक्छन् । युक्रेनमा हतारमा गरिएको चुनावले विदेशी शक्तिको राजनीतिक योजनालाई सहयोग पु¥याउनेछ । सबै युक्रेनीलाई ध्रुवीकरण र द्वन्द्वको सम्भावनाको डरविना स्थायी युद्धविराम भएपछि मतदान गर्ने अनुमति दिनुपर्छ ।
अलजजिराका लागि सर्गे मेडुकोभको आलेख