मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २२ बिहीबार
  • Thursday, 06 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण २२ बिहीबार o७:१९:oo
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

प्रधानमन्त्रीज्यू हिटलर बन्न खोज्नुभएको हो ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण २२ बिहीबार o७:१९:oo

सम्पादकीय टिप्पणी

संसद्परिसरमा प्रधानमन्त्री केपी ओलीलाई ‘सरकार हिटलर प्रवृत्तिमा जाँदै हो ?’ भनेर प्रश्न सोध्ने दुई पत्रकारको प्रेसपास निलम्बन गर्ने संसद् सचिवालयको निर्णयले फेरि एकपटक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहस उठान गरेको छ । सामाजिक सञ्जालको प्रयोगसम्बन्धी विधेयकमार्फत सरकारले नागरिकको आवाजमा लगाम लगाउन खोजेको विरोधमा सरोकारवाला र नागरिक तहबाटै प्रश्न उठिरहेका वेला पत्रकारको प्रेसपास खोस्ने कार्यले सरकार प्रश्नबाट पन्छिने मात्रै होइन, निषेध नै गर्न उद्यत् रहेको बुझ्न सकिन्छ । 

अभिव्यक्ति र प्रेस स्वतन्त्रताका सन्दर्भमा सरकारका पछिल्ला केही गतिविधि स्वाभाविक छैनन् । गत भदौमा प्रधानमन्त्री ओली र सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित टुँडिखेलको कार्यक्रममा ‘हुटिङ’ गरेकै अभियोगमा तीन युवालाई थुनियो । विरोधको भिडियो सामाजिक सञ्जालमा सेयर गर्नेहरूलाई पनि साइबर अपराध गरेको भन्दै पक्राउ गरियो । लगत्तै असोजमा काठमाडौंका मेयर बालेन शाहको फोटोअंकित टिसर्ट लगाएको ‘कसुर’मा इन्द्रजात्रामा भेला भएका युवाहरूलाई दिनभरि पुलिस कस्टडीमा राखियो, किनभने त्यहाँ प्रधानमन्त्रीको ‘सवारी’ हुँदै थियो । यही सोमबार प्रधानमन्त्रीको विरोध गर्दा दशरथ रंगशालामा एमाले कार्यकर्ताबाट दर्शक कुटिए, प्रधानमन्त्रीकै सामुन्ने भएको यो ज्यादतीमा राज्यको सुरक्षा संयन्त्र उल्टै पीडकको सहयोगी बन्यो । नागरिकको मुख थुन्ने उद्देश्यसहित आएको सामाजिक सञ्जालसम्बन्धी विधेयक र प्रेसपास निलम्बनको घटना थप उदाहरण हुन् । 

लोकतन्त्रमा प्रश्न गर्ने शैली, समय र स्थानका विषयमा बहस गर्न सकिन्छ, तर प्रश्नकै घाँटी निमोठ्न सकिँदैन । एउटा पत्रकारले मात्रै होइन, यो देशका हरेक नागरिकले प्रधानमन्त्रीसहितका आफ्ना प्रतिनिधिहरूलाई ‘तपाईं हिटलर बन्न खोजेको हो ?’ भनेर सोध्न पाउँछ र पाउनुपर्छ । 

‘हिटलर’ अर्थात् तानाशाह बन्ने जोखिम सत्ता र शक्तिमा भएका, रहेकाहरू नै हो । उनीहरूलाई ‘तपाईं हिटलर बन्न खोज्नुभएको हो ?’ भनेर सोध्नु न मर्यादाको पर्खाल नाघेको हो न अपमान गरेको हो । बुधबार नै सदनमा प्रधानमन्त्रीलाई सांसदले प्रश्न गरेका छन्, ‘तपाईं हिटलर बन्न खोजेको हो ?’ भोलिदेखि ती माननीय आउँदा संसद्को ढोकामा सचिवालयले ताल्चा ठोक्छ कि सभामुखले पद निलम्बन गर्छन् ? सरकारको ‘छाया’ बन्दै सार्वभौम संसद्ले पनि दुई पत्रकारको पास खोसेर प्रश्न मार्ने दुस्साहस गरेको हो भने हामी फेरि पनि सोध्न चाहन्छौँ– प्रधानमन्त्रीज्यू हिटलर बन्न खोज्नुभएको हो ?