मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
२o८१ फाल्गुण १३ मंगलबार १५:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री–वितरणमा रोक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १५:१९:oo

सल्यानमा खुला रूपमा पेट्रोलियम पदार्थ बिक्री–वितरण गरे कारबाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानले एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा गैरपेट्रोलियम व्यावसायिक व्यक्ति तथा पसलहरूले अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्दै  आएकाेमा त्यस्ताे कार्यमा रोक लगाएको हो । 

पेट्रोलियम पदार्थहरूको खरिद, बिक्री र वितरण गर्ने कार्य कानुनबमोजिम इजाजत प्राप्त व्यवसायीहरूले मात्र गर्न पाउने व्यवस्था रहेको भए तापनि पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरूमा गैरपेट्रोलियम व्यवसायी तथा सर्वसाधारणहरूले अवैध रूपमा पेट्रोल, डिजेललगायतका अति प्रज्ज्वलनशील पदार्थहरू बिक्री–वितरण गर्दै आएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले मंगलबार एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको वितरण कानुनी प्रक्रियाअनुसार इजाजत प्राप्त व्यवसायीहरूले मात्र गर्नुपर्ने हुँदा गैरव्यवसायी तथा सर्वसाधारणहरूबाट हुने अवैध बिक्री–वितरण पूर्ण रूपमा निषेध गरिएको जनाएको छ । अबको १५ दिनभित्र सबै गैरकानुनी रूपमा सञ्चालित पेट्रोलियम कारोबार बन्द गर्नुपर्ने निर्देशन पनि प्रशासनले दिएको छ ।

प्रशासनले अवैध कारोबार रोक्नका लागि फागुन ८ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सरोकारवालाहरूको बैठक बसी, पेट्रोलियम पदार्थहरूको गैरकानुनी कारोबार नियन्त्रण गर्न आवश्यक निर्णयहरू गरेको थियो । जिल्ला प्रशासनले विभिन्न क्षेत्रबाट गुनासो बढ्दै गएपछि जिल्लामा पेट्रोलियम पदार्थको अवैध कारोबारलाई निरुत्साहित गर्न तथा सम्भावित दुर्घटना रोक्न र कानुनी प्रक्रियालाई सुदृढ बनाउन यस्तो निर्देशन जारी गरेको हो ।