
समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य एवं योगदान गरेका पाँच व्यक्तिलाई पोखरामा सम्मान गरिएको छ। कास्की आदर्श समाज कतारको आयोजना एवं आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् र कास्की आदर्श समाज नेपालको समन्वयमा उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा चिकित्सकतर्फ त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगन्जअन्तर्गतको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा, शिक्षातर्फ चतुरमान श्रेष्ठ, सञ्चारतर्फ पत्रकार राजबहादुर गुरुङ, साहित्यतर्फ छविलाल आचार्य र कलातर्फ माओत्से गुरुङ रहेको सम्मान कार्यक्रमका संयोजक कृष्ण भण्डारीले जानकारी दिए ।
उनीहरूलाई नगद १० हजार, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको संयोजक भण्डारीले जानकारी दिए। कार्यक्रममा समाजका सदस्यका छोराछोरीमध्येबाट एसइई ०८० मा उत्कृष्ट अंक ल्याउने सबिनकुमार भण्डारीलाई समेत सम्मान गरिएको थियो।
सन् २००२ मा रोजगारीको क्रममा कास्कीबाट कतार पुगेकाहरूले समाजको स्थापना गरेका थिए। समाजको विभिन्न २१ देशमा शाखा रहेको कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष सन्तोष तिमिल्सिनाले जानकारी दिए।
समाजले स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, गरिब असहायहरूलाई आर्थिक सहयोग, विपतमा परेकाहरूलाई राहत वितरणलगायत काम गर्दै आएको समाजका अन्तर्राष्ट्रिय संयोजक तिलकसाली सापकोटाले जानकारी दिइन्।