मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १३ मंगलबार
  • Tuesday, 25 February, 2025
नवीन गुरुङ संखुवासभा
२o८१ फाल्गुण १३ मंगलबार १९:५३:oo
Read Time : < 1 मिनेट
समाचार

मकालु महोत्सवको तयारी पूरा

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ फाल्गुण १३ मंगलबार १९:५३:oo

पूर्वी पहाडी जिल्ला संखुवासभाको मकालु गाउँपालिकाको आयोजनामा हुन लागेको मकालु महोत्सव तथा दक्षिण एसियाली साहित्यिक सम्मेलनको तयारी पूरा भएको छ। मकालु हिमाल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा मकालु महोत्सव तथा मकालु प्लाटिनम जुबिली र दक्षिण एसियाली साहित्यिक सम्मेलनको आयोजना गरिएको हो।

भोलि बुधबार (१४ फागुनदेखि) १७ फागुनसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले बताए। उनले आन्तरिक तथा बाह्य पर्यटनको वृद्धिको लागि महोत्सवको आयोजना गरिएको बताए। ‘गतवर्षदेखि मकालु गाउँपालिकाले मकालु महोत्सवको आयोजना गर्दै आएको छ। गत वर्ष सञ्चालन गरिएको महोत्सव तथा प्रचारप्रसारका कारण मकालु हिमाल आरोहण गर्नेको संख्या पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा एक करोड राजस्व संकलन हुन मुस्किल थियो, तर महोत्सवको प्रभावले आर्थिक वर्ष ०८०-८१ मा एक करोड ८० लाख राजस्व संकलन भएको छ। यो वर्ष दुई करोड राजस्व संकलन गर्ने लक्ष्य छ।’ अध्यक्ष शेर्पाले भने, ‘संकलन भएका राजस्वको करिब १५ प्रतिशत महोत्सव सञ्चालनमा खर्च हुँदै आएको छ।’

महोत्सवका अवसरमा भलिबल प्रतियोगिता, मकालु गाउँपालिकालाई विभिन्न क्षेत्रबाट योगदान गर्नेहरूलाई सम्मान, स्थानीय झाँकी प्रदर्शन, स्थानीय उत्पादनका स्टलहरू, सांस्कृतिक कार्यक्रम र साहित्यिक सम्मेलन गरिने भएको छ।

कार्यक्रममा भारतको आसाम, सिक्किमलगायत प्रान्तका चर्चित कवि तथा साहित्यकार, नेपालका प्रसिद्ध गायक तथा कविहरूको उपस्थिति रहनेछ। लोकदोहोरी गायक राजु परियार, आशा बिसी, गीता योञ्जन, फुलन्देकी आमा (उमेश राई)लगायत स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति रहने आयोजकले जनाएको छ।

विश्वको पाँचौँ अग्लो हिमाल मकालुको उचाइ आठ हजार चार सय ६३ मिटरमा छ। सन् ५ मे १९५५ मा जिन फ्रान्को नेतृत्वको ‘फ्रान्स स्प्रिङ १९५५’ ले यो हिमाल पहिलोपटक आरोहण गरेको थियो।