
संयुक्त राष्ट्रसंघीय क्षेत्रीयस्तरको युवा संसद् (युएन युथ पार्लियामेन्ट)सम्मेलनमा सहभागी हुन रास्वपाकी सांसद सोबिता गौतम थाइल्यान्ड प्रस्थान गरेकी छिन्। क्षेत्रीयस्तरको युएन युथ सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गौतम मंगलबार बैंकक प्रस्थान गरेकी हुन्।
बैंककस्थित राष्ट्रसंघको क्षेत्रीय कन्फरेन्स हलमा तीनदिने (२६, २७, २८ फेब्रुअरी) रिजनल युथ पार्लियामेन्ट इन क्लाइमेट एक्सन डाइलग हुँदै छ। यो कार्यक्रममा नेपालको संसद्बाट गौतमले प्रतिनिधित्व गरेकी हुन्। कार्यक्रममा नेपालबाट बन्धना राणा, अन्य क्षेत्रका युवा प्रतिनिधि पनि सहभागी छन्।
सम्मेलनमा सांसद गौतमले बुधबार मलेसिया र इन्डोनेसियाका प्रतिनिधिसहित जलवायु परिवर्तन, क्लाइमेट पोलिसीका सन्दर्भमा नेपालका तर्फबाट बोल्ने कार्यक्रम छ।
गौतम शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ। कार्यक्रममा चीन, फिलिपिन्स, मलेसिया, इन्डोनेसिया, श्रीलंका, सिंगापुर, नेपाल, हङकङ, भारत, भुटानलगायत १२ देशका युवा प्रतिनिधि सहभागी छन्।
कार्यक्रमको आयोजना राष्ट्रसंघअन्तर्गतका युएन ओमन, युएनडिपी, युनिसेफ, क्लाइमेट पार्लियामेन्टलगायतले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रम शुक्रबारसम्म चल्नेछ।