
ठुलो संघर्षबाट स्थापित गणतन्त्रमा नागरिकको हितभन्दा भ्रष्टाचार र नेताराजको अवस्था आएको भन्दै नागरिक अगुवाले आन्दोलनको तयारी गरेका छन् । बृहत् नागरिक आन्दोलनले एक महिना सरोकारवालासँग छलफल गर्ने र अर्को महिना सडक आन्दोलन गर्न लागेको हो।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बृहत् नागरिक आन्दोलनले राजधानीमा पत्रकार सम्मेलन गरेर नागरिक फेरि जाग्नुपर्ने वेला आएको औँल्याएको हो । आन्दोलनले राजनीतिक दल, संसद् र सरकारसँग विभिन्न मागसमेत गरेको छ । आन्दोलनले संविधानको मूल्य–मान्यता अनुसरण गर्न राजनीतिक दलहरूमा संस्कार र व्यवहारको कमी देखिएको ठहरसमेत गरेको छ ।
दलहरूको बेथिति रोक्न विद्यमान राजनीतिक दलसम्बन्धी कानुनमा गम्भीर पुनरावलोकन गर्नुपर्ने, आर्थिक पारदर्शिताका लागि कानुनी कदम चाल्नुपर्ने, सार्वजनिक संस्थामा अति दलीयकरण नियन्त्रण गरिनुपर्ने माग गरिएको छ । दलका आन्तरिक चुनावदेखि प्रत्यक्ष वा समानुपातिक उम्मेदवारको चयन, दलीय भागबन्डा र लेनदेनको नियुक्तिले बेथितिलाई बढावा दिएको आन्दोलनको ठहर छ । ‘सबै निकायमा चरम दलीयकरण छ । राज्यको जराजरामा आर्थिक अपचलन, घुसखोरी र शोषण संस्थागत हुँदै छ । यी आपत्तिजनक प्रवृत्तिको जड दलहरूभित्रको विकराल नेताराज हो, तानासाही व्यवहार हो,’ नागरिक आन्दोलनले भनेको छ ।
ठुलो संघर्षबाट स्थापित गणतन्त्रमा नागरिकको हितभन्दा भ्रष्टाचार र नेताराजको अवस्था आएको भन्दै त्यसको अन्त्य गर्नुपर्नेमा अभियन्ताहरूले जोड दिएका छन् । नेताराजको अन्त्य, राजनीतिक दललाई जनउत्तरदायी, पारदर्शी र भ्रष्टाचारविमुख तथा गणतन्त्रलाई जनमुखी बनाउन खबरदारी आवश्यक रहेको उनीहरूको तर्क छ ।
अभियन्ता खगेन्द्र संग्रौलाले राजनीति पद प्राप्तिमा केन्द्रित भएको बताए । जनताको अधिकार सुनिश्चित गर्न खबरदारी आवश्यक रहेकोमा उनले जोड दिए । ‘अहिलेको राजनीति पद प्राप्तिमा सीमित भएको छ । जनताले अधिकार उपयोग गर्न पाएका छैनन् । जनताको अधिकार सुनिश्चित गर्न आन्दोलित हुनुपर्ने अवस्था आएको छ,’ उनले भने ।
अर्का अभियन्ता कृष्ण खनालले गणतन्त्रलाई जनमुखी बनाउन आन्दोलनको आवश्यकता औँल्याए । देशमा व्यवस्था परिवर्तन नागरिक आन्दोलनकै बलमा भएको उनले स्मरण गरे । ‘दलका नेताहरूले विगतमा पटक–पटक अब गल्ती नगर्ने प्रतिबद्धता जनाउँदै आए । ती प्रतिबद्धतापछि नागरिक आन्दोलनले साथ पनि थियो । तर, आन्दोलनपछि सत्तामा पुग्दा नेताहरूले सबै प्रतिबद्धता भुले । त्यही कारण आज यो अवस्था आएको छ । अब फेरि आन्दोलनको विकल्प छैन,’ उनले भने ।