मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ६ मंगलबार
  • Wednesday, 12 March, 2025
२o८१ फाल्गुण ६ मंगलबार २२:२o:oo
Read Time : > 1 मिनेट
विश्व

हमासले शनिबार थप ६ बन्धकलाई रिहा गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ६ मंगलबार २२:२o:oo

प्यालेस्टिनी विद्रोही समूह हमासले आगामी शनिबार थप ६ जना बन्धकलाई रिहा गर्ने भएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बताएसँगै बदलामा थप बन्धकलाई हमासले रिहा गर्न लागेको हो ।

इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी ६ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मंगलबार जनाएको छ ।

इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले बन्धकहरूलाई रिहा गरिरहेको छ । इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । नेतान्याहुको कार्यालयले हमासले चारजना बन्धकको शव अर्को साता फिर्ता गर्ने जनाएको छ ।

हमासका एक वरिष्ठ अधिकारी तथा मुख्य हमास वार्ताकार खलिल अल–हयाले एक टेलिभिजन सम्बोधनमा चार शव बिहीबार हस्तान्तरण गरिने पुष्टि गरे । उनले प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले ६ जना इजरायली बन्धकहरूलाई पनि मुक्त गर्ने बताए । 

युद्धविराम सम्झौता तीन चरणमा लागू गर्ने सहमति भएको थियो । पहिलो ४२ दिनको अवधिमा इजरायली जेलमा रहेका करिब एक हजार नौ सय प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ ।

अर्को चरणमा युद्धको स्थायी अन्त्यका लागि वार्ता हुनुपर्दछ, जबकि अन्तिम चरणमा गाजाको पुनर्निर्माण र मृत बन्धकहरूको शव वा उनीहरूको अवशेष फिर्ती हुनेछ ।

७ अक्टोबर ०२३ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९१ जना गाजामा जीवित अवस्थामा रहेका विश्वास गरिएको छ ।

इजरायलको तथ्यांकअनुसार उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो । इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४७ हजार २८३ जनाको मृत्यु भएको हमासको नियन्त्रण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।