
दिल्लीस्थित नेपाली राजदूतावासले भारतको उडिसा राज्यस्थित भुवनेश्वर पाटियामा रहेको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न भारत सरकारलाई तथा नेपाली विद्यार्थीलाई निकाल्ने निर्णय फिर्ता गर्न विश्वविद्यालयलाई अनुरोध गरेको छ।
दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय विदेश मन्त्रालयसँग र विश्वविद्यालयका अधिकारीसँग आज सोमबार नेपाली विद्यार्थीको सुरक्षाबारे चासो राखेको हो। बिटेक तेस्राे वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि आक्रोशित विद्यार्थी आन्दोलनमा छन्। क्याम्पस प्रशासनले सबै नेपाली विद्यार्थीलाई सोमबारसम्म क्याम्पस छाड्न निर्देशन जारी गरेको छ।
‘हामीले भुवनेश्वरमा भएको घटनापछि विश्वविद्यालय पदाधिकारीसँग गम्भीर कुराकानी गरेका छौँ । नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न, उनीहरूलाई क्याम्पस खाली गर्ने निर्देशन फिर्ता गर्न र घटनाको निष्पक्ष छानबिनसहित न्यायिक प्रक्रियामा सहयोग गर्न भनेका छौँ । उनीहरूले हाम्रो चासो सम्बोधन गर्ने आश्वासन दिएका छन्,’ नेपाली राजदूतावासका एक उच्च अधिकारीले दिल्लीबाट टेलिफोनमा भने।
राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेश मन्त्रालयका अधिकारीलाई यसबारे चासो व्यक्त गरेको र उनीहरूले पनि नेपाली विद्यार्थीको सुरक्षाबारे आश्वस्त पारेको ती अधिकारीले बताए। घटनाप्रति भारतीय अधिकारीले दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गर्ने आश्वासन दिएका छन्।
घटनापछि छात्रावासमा रहेका नेपाली विद्यार्थीलाई सोमबारसम्म क्याम्पस छाड्न प्रशासनले आदेश जारी गरेको थियो। यसप्रति नेपाली राजदूतावासले विरोध जनाएको छ।
विश्वविद्यालयका रजिस्ट्रार ज्ञानरञ्जन मोहन्तीले प्रकृतिलाई दुर्व्यवहार गरेको भनिएका विद्यार्थी अद्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको र घटनाबारे परिवारलाई जानकारी दिएको स्थानीय सञ्चारकर्मीलाई बताएका छन्।