मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ३ शनिबार
  • Saturday, 15 February, 2025
२o८१ फाल्गुण ३ शनिबार o९:o१:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज पोखरा भ्रमण वर्ष घोषणा हुँदै

भ्रमण वर्षमा स्वदेशका पाँच र विदेशका पाँच गरी १० सहरसँग भगिनी सम्बन्ध स्थापना गरिने, ‘टुरिजम इन्भेस्टमेन्ट समिट’ पनि आयोजना  

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ३ शनिबार o९:o१:oo

पोखरामा वर्षको २० लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’का रूपमा मनाइने भएको छ । पोखरा महानगरपालिकाले शनिबार विशेष समारोह आयोजना गरी ‘पोखरा भ्रमण वर्ष– ०२५’को औपचारिक घोषणा गर्न लागेको हो ।

महानगरले पोखरा घुम्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर भ्रमण वर्ष मनाउन लागेको मेयर धनराज आचार्यले बताए । यसअघि ४ चैत ०८० मा पोखरालाई देशको पर्यटकीय राजधानी सहरका रूपमा घोषणा गरिएको थियो । पर्यटकीय राजधानी सार्थक तुल्याउन पनि भ्रमण वर्ष मनाउन लागिएको हो । मनमोहक अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित पोखरालाई प्राकृतिक, सांस्कृतिक र साहसिक क्षेत्रको अद्वितीय संगमका रूपमा लिने गरिन्छ । 

भ्रमण वर्षको अवधिमा पोखरामा स्वदेशी र विदेशी गरी २० लाख पर्यटक भित्र्याउने मुख्य लक्ष्य लिइएको छ । यसका तीनै तहका सरकार, पर्यटन बोर्ड, पर्यटनसम्बद्ध संघ–संस्था, छिमेकी जिल्ला, पर्यटन व्यवसायीलगायतसँग मिलेर काम गरिरहेको मेयर आचार्यले बताए । पोखराको अर्थतन्त्रलाई चलायमान बनाउँदै स्वच्छ पोखरा, स्वस्थ र खुसी पोखरेली बनाउने अभियानमा यो वर्षलाई आधार वर्षका रूपमा महानगरले लिएको छ । 

पोखरा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य हो । साहसिक पर्यटनको केन्द्र नै मानिन्छ । पोखरा विश्वकै चर्चिट ट्रेकिङ ट्रेल अन्नपूर्ण सर्किटको गेट वे पनि हो । मेयर आचार्य भन्छन्, ‘पोखरालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्न, पोखरामा आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढाउन, पोखराको प्राकृतिक एवं मानव निर्मित गन्तव्य स्थलहरूको प्रचारप्रसार गर्न र यी सम्पूर्ण क्षेत्रहरूको महत्व तथा अवस्थितिलाई जनसमक्ष पुर्‍याउने भ्रमण वर्षको उद्देश्य हो ।’

पर्यटक भित्र्याउन दिगो र उत्तरदायी पर्यटन विकासका लागि नीतिगत सुधार तथा योजना तयार गरी लागू गर्नुका साथै नयाँ पर्यटकीय गन्तव्यको खोजी, स्थापना तथा महानगरको कम्तीमा ‘एक वडा, एक पर्यटकीय गन्तव्य’ स्थापित गर्दै प्रचारप्रसार गर्ने काम भ्रमण वर्षको अवधिमा हुनेछ । यस्तै, पोखरा घुम्न आउने पर्यटकको तथ्यांक राख्न पनि सुरु गरिनेछ । अहिले पोखरा आउने पर्यटकको तथ्यांक राख्ने चलन छैन । भ्रमण वर्षको अवधिभर पोखराले स्वदेशका पाँच र विदेशका पाँच १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने योजना बनाएको छ । त्यस्तै पर्यटन क्षेत्रलाई नै लक्षित गरेर पोखरामा ‘टुरिजम इन्भेस्टमेन्ट समिट’ आयोजना गरिने भएको छ ।  

अन्तर्राष्ट्रिय उडानका लागि प्रयास गरिने 
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) सञ्चालनमा आएको २६ महिना पुग्न लाग्दासमेत एउटै नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । महानगरले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रयास जारी राखेको बताउँदै आचार्यले भने, ‘यसका लागि विभिन्न संघ र प्रदेश सरकारसँग समन्वय भइरहेको छ, मित्रराष्ट्र चीनसहित विदेशका विभिन्न सहरहरूसँग सीधा उडानका लागि प्रदेश र संघ सरकारसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको छ ।’ 

प्याकेज घोषणा गरिने 
औपचारिक घोषणासभामा भ्रमण वर्षलाई लक्षित गर्दै सरकारी र निजी क्षेत्रका तर्फबाट पोखरा भ्रमणमा आउने पर्यटकका लागि छुटका आकर्षक प्याकेज घोषणा गरिने भएको छ । होटेल, ट्रेकिङलगायतका पर्यटन व्यवसायीदेखि विमान कम्पनीले दिने छुटसम्मका कार्यक्रममा घोषणा गर्न लागेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले जानकारी दिए । 

१२ सय होटेल, ४० हजार बेड क्षमता
पोखरा महानगरपालिका क्षेत्रमा अहिले पर्यटकीय स्तरका १२ सय होटेल सञ्चालनमा रहेका होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा पाँचतारे एउटा, चारतारे सातवटा गरी २५ वटा तारे होटेल सञ्चालनमा छन् । पोखरा महानगरभित्र सञ्चालित होटेलहरूमा एक रातमा ४० हजार पर्यटक राख्न सक्ने क्षमता रहेको उनको भनाइ छ ।

भ्रमण वर्षमा पोखरा आउने पर्यटकको संख्या बढ्ने अध्यक्ष सुवेदीको विश्वास छ । ‘घुम्न निस्कने योजना बनाइरहेका आन्तरिक पर्यटक पनि यही समयमा पोखरा जानुपर्छ भन्नेतिर लाग्छन्, चीनले पनि पोखरालाई प्राथमिकतामा राखेको छ, अन्य देशबाट पनि पर्यटकको आगमन बढ्ने नै छ,’ उनले भने, ‘पोखरामा पर्यटक आगमन वृद्धि हुँदा यसले पर्यटन क्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रमै फाइदा पुग्नेछ । अहिले नेपाल घुम्न आउने ३० देखि ३५ प्रतिशत पर्यटकलाई मात्र पोखरा ल्याउन सके पनि यस क्षेत्रको पर्यटनले काँचुली फेर्ने सुवेदीको ठम्याइ छ । 

यस क्षेत्रका पर्यटकीयस्तरका पाँच सय रेस्टुरेन्ट सञ्चालनमा छन् । भ्रमण वर्षका कारण पदमार्गमा जाने पर्यटकको संख्यामा समेत वृद्धि हुने र यसले पोखराको मात्र नभएर आसपासका क्षेत्रलाई समेत फाइदा पुग्ने टानका अध्यक्ष कृष्ण आचार्य बताउँछन् ।

यस्ता छन् भ्रमण वर्षका कार्यक्रम  

  • संसारभरका विदेशी, गैरआवासीय नेपाली तथा स्वदेशी पाहुनालाई पोखरा भ्रमण गर्न आह्वान गर्ने ।
  • विभिन्न विकास साझेदार, विदेशी नियोग तथा राजदूतावासहरूसँग समन्वय गरी संसारका विभिन्न सहरमा पोखराको प्रचारात्मक अभियान, प्रवर्द्धनसँगै भ्रमणका लागि आह्वान गर्दै आवश्यक सहकार्य गर्ने ।
  • विश्वभर रहेका नेपाली मूलका मन्त्री, सांसद, मेयर तथा जनप्रतिनिधिसहित पोखरासँग भगिनी सम्बन्ध स्थापित भएका सहरहरूलाई भ्रमण गर्न र गराउन औपचारिक निमन्त्रणासहित पहलकदमी लिने । 
  • गैरआवासीय नेपाली संघ एनआरएनएको सहजीकरण र सहकार्यमा विश्वभर पोखरा भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटीका लागि आवश्यक पहलकदमी चलाउने र छिमेकी एवं मुलुकका मुख्य सहरहरूमा सीधा उडानको व्यवस्था गर्न पहल गर्ने ।
  • मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार निर्माण, बोटानिकल गार्डेन, एयरपोर्ट लेकसाइड द्रुतमार्ग, हेरिटेज साइड, पन्चासे क्षेत्र विकास, १० ताल जोडिने साइकल लेनलगायतका पर्यटन क्षेत्रलाई टेवा पुग्ने विभिन्न पूर्वाधारको निर्माण तथा सुरुवात गर्ने ।
  • पिपिपी परियोजनाका माध्यमबाट सम्भावित विभिन्न पर्यटन क्षेत्रलाई टेवा पुग्ने परियोजनाको विकासका लागि आह्वान गर्ने तथा परियोजना अगाडि बढाउन प्राथमिकता दिने । 
  • स्थानीय व्यवसायको प्रवर्द्धन, पोखराको ब्रान्डिङ, अर्थतन्त्रको विकास, दिगो पर्यटन विकास, पर्यटकीय राजधानी स्थापित गर्न निजी क्षेत्र, सरकारी, गैरसरकारी संस्था, नेपाल पर्यटन बोर्ड, कूटनीतिक नियोग, एनआरएनएलगायतका संस्थासँगको साझेदारीमा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा लाग्न र लगाउन महानगरले विशेष पहलकदमी लिँदै रोजगारीको अवसर वृद्धि गर्ने ।