![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/apf.2024-05-31-10-23-16.2024-06-02-09-52-12.jpeg)
राजनीतिक हस्तक्षेपका कारण सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया सुरु भएको छ । डिआइजीका तीन रिक्त पदमा तीन दिनभित्र मूल्याङकन फारम भर्न बढुवा समितिले शुक्रबार सूचना निकालेको छ ।
सशस्त्र प्रहरीमा हाल डिआइजीका तीन पद रिक्त छन्। जुनियर ब्याचका एसएसपी दिपेन्द्र कुँवरलाई बढुवा गर्न दबाब दिइएकाले बढुवा प्रक्रिया नै रोकिएको थियो । सो विषयमा हालै संसदमा समेत कुरा उठेपछि बढुवा प्रक्रिया अघि बढाइएको छ ।
रिक्त तीन पदमा बरियताका आधारमा कृष्ण पाठक, मनिष थापा र कृष्ण ढकाल छन्। तर, सिंस २ को ब्याचका एसएसपी कुँवरले आफ्नो ब्याचबाट एकल बढुवा हुन खोजेपछि सम्पूर्ण बढुवा प्रक्रिया नै रोकिएको थियो । कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका भजितीज्वाई हुन् ।
‘ज्वाइँनारायणलाई प्रमुख बनाउन सशस्त्र प्रहरीमा बढुवा रोकिएको’ भनेर गत २९ माघको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले गृहमन्त्रीको जवाफ मागेका थिए । ब्याच नै मिचेर बढुवा गर्दा संगठनमा बेथिती मौलाउने भन्दै सशस्त्र प्रहरी अधिकारीले यसरी बढुवा नगर्न सशस्त्र प्रहरी नेतृत्वलाई सुझाव दिदै आएका छन्।