![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Cover~Keshav2025-02-15-06-30-07.jpeg)
१५औँ महाधिवेशनको चर्चा र तयारीबिच कांग्रेसमा सभापति शेरबहादुर देउवाको उत्तराधिकारीको खोजी सुरु भएको छ । आगामी महाधिवेशनमा परम्परागत गुट भत्कने र नयाँ बन्ने दाबी सार्वजनिक भइरहेका वेला संस्थापन पक्षका नेताहरूले सामूहिक रूपमा देउवाको उत्तराधिकारीको खोजी सुरु गरेका हुन् ।
महाधिवेशनको तयारीमा रहेको कांग्रेसभित्र पूर्वमहामन्त्री तथा कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला नयाँ भूमिकामा आएका छन् । शुक्रबार सभापति शेरबहादुर देउवा समूहको भेलाको अग्रसरता उनै सिटौलाले गरेका छन् । १५औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसभित्र सिटौलाको यो भूमिका बिल्कुलै नयाँ घटनाक्रम हो ।
कांग्रेसमा डा. शेखर कोइराला र गगन थापाले सभापतिको उम्मेदवारी दिने बताइसकेका छन् । तर, देउवा समूहबाट सभापतिको उम्मेदवार टुंगो लागेको छैन । यस्तोमा संस्थापनपक्षीय नेताहरूले बुढानीलकण्ठस्थित सभापति देउवानिवासमा पुगेर छलफल गरेका हुन् । र, सिटौलाको अग्रसरतामा भएको भेला अर्थपूर्ण छ । देउवाले आगामी महाधिवेशनमा आफू उम्मेदवार नबन्ने दोहोर्याउँदै सल्लाहमा समूहबाटै उत्तराधिकारी ल्याउने आश्वासन दिएका छन् ।
नेता विमलेन्द्र निधिका अनुसार सिटौलाले नै सुरुमा भेटबारे प्रकाश पार्दै समूह आगामी महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आएको बताएका थिए । ‘सिटौलाजीले सुरुमा नै भन्नुभयो– १४औँ महाधिवेशनदेखि साथ दिएका हामी अहिले पनि सँगै छौँ, यो टिम निरन्तर रहन्छ, १५औँ महाधिवेशनसम्म पनि साथमै रहनेछ । यसबाहेक साथीहरूले हाम्रो समूहबाट पार्टी नेतृत्व लिनेबारे चर्चा बाहिर छैन, केही नाम मात्र चर्चामा छन् । तपाईंको टिमबाट कोही नेतृत्वमा आउँदैन भन्ने अवस्था अब धेरै अगाडि बढ्न दिनुहुँदैन । हाम्रो टिमको टुंगो लगाउनुपर्छ । कसलाई अगाडि बढाउने भन्नेबारे सल्लाह हुनुपर्छ । तपाईंले अभिभावकत्व लिनुपर्छ भनेका छन्,’ निधिले भने ।
जवाफमा देउवाले छलफल गरेर अघि बढ्ने बताएका थिए । ‘१५औँ महाधिवेशनमा म उम्मेदवार बन्नेछैन । ०८४ को निर्वाचनमा परिणाम ल्याउनु छ । आमचुनावपछि महाधिवेशन गर्ने आवाज पनि पार्टीभित्र उठिरहेको छ । मैले अहिलेसम्म कसैलाई पनि अगाडि बढ्नू भनेको छैन । कसरी जाने भन्ने विषयमा सल्लाह गर्दै गरौँ । सबै विषयमा छलफल गरेरै अघि बढौँ । म समूहको हितका लागि तयार छु,’ देउवाको भनाइ उद्धृत गर्दै निधिले भने ।
प्रवक्ता डा. प्रकाशशरण महतले भेलामा अध्यादेशमा देखिएको संकट समाधानदेखि १५औँ महाधिवेशनमा देउवा समूहको अस्तित्वलगायत विषयमा छलफल भएका बताए । भेलामा देउवाले महाधिवेशन एक वर्ष पछाडि धकेलिने पनि स्पष्ट सन्देश दिएका छन् ।
महतका अनुसार विशेष रूपमा आगामी महाधिवेशनमा संस्थापन समूह एकै राखेर अघि बढ्नुपर्ने विषयमा छलफल भएको छ । ‘केही विषय लिएर सभापतिलाई भेट्न गएका हौँ । पार्टीका आन्तरिक विषयमा छलफल भएको छ । लामो समयदेखि साथमा रहेका र सभापतिमा जिताउन भूमिका खेल्नेहरू एकै ठाउँमा रहेको जानकारी गरायौँ र अबको महाधिवेशनमा पनि यो समूहलाई एक गरेर निर्णयमा पुग्नुपर्ने विषय राख्यौँ,’ डा. महतले भने, ‘हामीले समय आएपछि एकैठाउँमा रहेर घोषणा गर्ने र त्यसमा उहाँको साथ र समर्थन आवश्यक रहने बतायौँ । उहाँले आफ्नो सद्भाव रहने बताउनुभयो ।’
बुढानीलकण्ठको छलफलमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू शशांक कोइराला र प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण र एनपी साउद, प्रवक्ता महतलगायत सहभागी थिए । पछिल्लो समय निष्क्रिय रहेका खाण, गच्छदारसहितका कांग्रेसको दसौँ महाधिवेशनदेखि देउवालाई निरन्तर सहयोग गर्दै आइरहेका पूर्वपदाधिकारीदेखि वर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । झन्डै तीन घण्टा भएको छलफलमा समसामयिक राजनीति, अध्यादेश, महाधिवेशनलगायत विषयमा छलफल केन्द्रित रहेको थियो ।
स्रोतका अनुसार भेटमा नेताहरूले आफ्नो समूहबाट नेतृत्वका रूपमा अगाडि नसार्दा समूहमा ‘कन्फ्युजन’ देखिएको भन्दै समूहलाई एकढिक्का राख्ने गरी भूमिका खेलिदिन देउवासँग आग्रह गरेका थिए । देउवाले यसबारे आफू सकारात्मक रहेको जवाफ दिएको नेताहरूको दाबी छ । सभापति देउवाले महाधिवेशनका लागि आ–आफ्नो तयारीमा लाग्न नेताहरूलाई सुझाएका थिए । ‘प्रतिस्पर्धामा कहाँ रहने भन्नेमा तपाईंहरूको भावनाका आधारमा आफ्नो तरिकाले लाग्नुहोला,’ देउवाको भनाइ उद्धृत गर्दै महतले नयाँ पत्रिकासँग भने, ‘महाधिवेशनको समय बाँकी छ । तपाईंहरूले दिनुभएको सल्लाह–सुझावलाई सकारात्मक रूपमा लिएको छु । तपाईंहरूले गर्ने निर्णयमा मेरो सद्भाव रहन्छ ।’
एक पूर्वपदाधिकारीले दसौँ महाधिवेशनदेखि नै देउवालाई सहयोग गर्दै आएका नेताहरू भेटका लागि पुगेको बताए । भेटका क्रममा देउवा समूहबाट आगामी नेतृत्वको टुंगो लगाएर जानुपर्नेदेखि समूहको नेताहरूको व्यवस्थापनको सुनिश्चिततासम्मको विषय अगाडि सारेका थियो । ‘हामी विशेषगरी १०औँदेखि १४औँ महाधिवशेनमा उहाँलाई सहयोग गर्नेहरू उहाँले सम्झन छोड्नुभयो भनेर आपसमा सल्लाह गरेर भेटका लागि गएका थियौँ । भेटमा पूर्वउपसभापतिहरू, वर्तमान उपसभापतिसहित पूर्वमहामन्त्रीहरू, केन्द्रीय सदस्यहरू थियौँ,’ ती नेताले भने । उनका अनुसार देउवाले आफूले पार्टीमा गलत सन्देश दिने सम्भावनाका कारण समूहको भेला नगरेको बताएका थिए ।
साथै, आगामी महाधिवेशनमा विगतमा आफूलाई सहयोग गरेकामध्येबाटै उत्तराधिकारी चयन गर्ने बताएका थिए । ‘मैले सभापति भएर गुटको भेला बोलाउँदा पार्टीमा गलत सन्देश जाने भएकाले बोलाएको थिइनँ । अब म सभापति बन्ने होइन । तपाईंहरूलाई यत्तिकै छाड्ने अवस्थामा म छैन । ०८२ मा महाधिवेशन हुने सम्भावना छैन । एक वर्ष थप्ने प्रचलन छ,’ देउवाको भनाइ थियो, ‘म ०८३ मा प्रधानमन्त्री बनेपछि महाधिवेशन हुन्छ । त्यसका लागि समय छ । साथीहरूलाई अरू गुटमा तानिएको भन्ने हल्ला छ । तपाईंहरू यही समूहमा रहनुहोस्, यताउता जान हतार नगर्नुहोस् । मैले तपाईंहरूमध्ये नै एकजनालाई उत्तराधिकारी चयन गर्ने हो । तपाईंहरू लड्नुहोला, मेरो सहयोग रहन्छ, ढुक्क हुनुस् ।’
पछिल्लो समय खाण, साउद, डिला संग्रौलालगायतले गुट परिवर्तन गरेर संस्थापनइतर समूहमा सक्रिय भएको चर्चा चल्ने गरेको छ । उनीहरू इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइराला प्रमुख अतिथि बनेका कार्यक्रम र एकसाथ विभिन्न जिल्ला पुगेर नेता–कार्यकर्तासँग भेटघाट र अन्तक्र्रिया गरिरहेका छन् । यसले कांग्रेसमा तरंग ल्याएको छ । पछिल्लो समय उनीहरू साथै कांग्रेस–एमाले सत्तासमीकरणपछि महामन्त्री गगन थापा पनि सभापति देउवानिकट रहेको चर्चा हुने गरेको छ । तर, महामन्त्री थापा भने बुढानीलकण्ठ बैठकमा सहभागी थिएनन् ।
संस्थापनबाट स्वीकार्य होलान् सिटौला ?
१४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सहयोग गरेका नेता कृष्णप्रसाद सिटौलालाई आगामी महाधिवेशनमा सभापति पदका आकांक्षीका रूपमा हेरिएको छ । तेस्रो धारको प्रभावशाली नेताका रूपमा रहेका उनले हालसम्म औपचारिक रूपमा नेतृत्वको दाबेदारी गरेका छैनन्, तर आफ्ना निकटहरूसँग अगाडि बढ्ने संकेत दिएका छन् ।
कांग्रेसभित्र देउवापछिको नेतृत्व सम्हाल्न सक्ने र सबै पक्षलाई समेटेर लैजान सक्ने नेताका रूपमा सिटौलाको चर्चा भइरहेको छ । उनले विगतमा कतिपय कठिन घडीमा देउवालाई साथ दिएका थिए । कांग्रेसको आन्तरिक समन्वय र अन्य दलहरूसँगको सम्बन्ध मजबुत बनाउन सक्ने नेताका रूपमा सिटौलालाई लिइन्छ । संस्थापन पक्षका केही नेताहरूका अनुसार सिटौलालाई अघि सार्दा शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्कालगायत नेताहरूले पनि स्वीकार गर्ने सम्भावना रहन्छ ।
१२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले सिटौलालाई महामन्त्री नियुक्त गरेका थिए । त्यसपछि उनी कुनै पदाधिकारी भूमिकामा नपरे पनि पार्टीमा तेस्रो धारको प्रभावशाली नेताका रूपमा स्थापित रहँदै आएका छन् । ०६२/६३ को जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी कोइराला र प्रचण्डबिच समन्वयको कडी थिए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन खेलेको भूमिका तथा ०७२ को संविधान निर्माण प्रक्रियामा उनको सक्रियता महत्वपूर्ण मानिन्छ ।
सिटौलाको राजनीतिक कद अन्य दलहरूमा पनि सकारात्मक रूपमा हेरिन्छ । उनीनिकट स्रोतहरूका अनुसार देउवाको अन्तिम कार्यकाल भएकाले सिटौलाले समर्थन जुटाउने प्रयास गरिरहेका छन् । देउवाको रणनीति हेरेर अघि बढ्ने तयारीमा छन् । कांग्रेस नेता भीमसेनदास प्रधानका अनुसार सिटौलाले नेतृत्वको दाबी खुला रूपमा गरेका छैनन् । ‘कृष्णदाइले सभापति देउवालाई सधैँ साथ दिनुभएको छ । सभापति देउवाले अब कसलाई समर्थन गर्नुहुन्छ भन्ने महत्वपूर्ण हुनेछ,’ उनले भने ।
कस्तो छ महामन्त्री गगन थापाको गृहकार्य ?
महामन्त्री गगन थापाले १५औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने सार्वजनिक रूपमै बोलेका छन् । पछिल्लो समय उनले इतर समूहको गतिविधिमा आफ्नो संलग्नता कम देखाएका छन्, सभापति शेरबहादुर देउवालाई पार्टी र सत्तागठबन्धनमा सहयोग गरिरहेका छन् । देउवाको अन्तिम कार्यकाल भएकाले पनि थापाले संस्थापन समूहको सेन्टिमेन्ट लिन चाहेको देखिन्छ । केपी ओलीबाट सहज रूपमा देउवामा सत्ता हस्तान्तरण गराउन सके महाधिवेशनमा समर्थन जुटाउन सकिने उनको विश्वास छ । इतर समूहका नेता शेखर कोइराला सभापतिको उम्मेदवार बन्ने घोषणा गरेर देश दौडाह गरिरहेका छन् ।
कोइराला परिवारमा बेमेल : सुजाता शेखरको पक्षमा, आफैँ सभापति बन्ने दाउमा शशांक
कांग्रेसमा कोइराला परिवारमै बेमेल छ । डा. शेखर कोइराला फेरि पनि सभापतिको उम्मेदवार बन्ने अभियानमा देशव्यापी दौडाहमा लागेका छन् । उनलाई सुजाता कोइरालाले साथ दिएकी छिन् ।
गत सोमबार जिपी कोइराला फाउन्डेसनले भक्तपुरमा आयोजना गरेको ‘राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा उनले आफूले शेखर कोइरालालाई समर्थन गर्ने बताइन् । ‘आज यो देश कांग्रेसले होइन, एमालेले हाँकिरहेको छ । ओलीजीले नेतृत्व लिएर देश हाँकिरहनुभएको छ । कांग्रेस स्याडोमा परेको छ । शेरबहादुरजीको कुनै विचार छैन, उहाँ काम नै गर्नुहुन्न । उहाँ दिनभरि के गर्नुहुन्छ भगवान् जानून् । उहाँले कांग्रेस हाँक्न सकिरहनुभएको छैन । त्यसैले मैले निर्णय गरेँ, अब हुने सभापति शेखर कोइराला हो,’ सुजाताले भनिन् ।
तर, डा. शशांक कोइराला भने आफैँ सभापतिको उम्मेदवार बन्ने दाउमा छन् । शशांक संस्थापन पक्षमा छन् । उनी सभापति देउवाको समर्थनमा सभापतिको उम्मेदवार बन्ने रणनीतिमा लागेका छन् । उनी कोइराला परिवार एक ठाउँमा आउनुपर्छ भन्नेमा सहमत देखिँदैनन् । गत १६ पुसमा मेलमिलाप दिवसका लागि चितवन पुगेका शशांकले परिवार एक भएर नभई विचारमा एकरूपता हुनुपर्ने बताएका थिए । ‘परिवार एक होइन, विचार एक हुनुपर्यो, अनि हुन्छ,’ शशांकको भनाइ थियो ।
कोइराला, सिंह र निधिको ‘लन्च मिटिङ’को सन्देश
कांग्रेसमा ‘विरासत’ बोकेका तीन नेतापुत्र डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले समय–समयमा ‘लन्च मिटिङ’मार्फत रणनीतिक सन्देश दिइरहेका छन् । तीन नेताबिच पछिल्लोपटक गत १७ पुसमा सिंहनिवास चाक्सीबारीमा भेटवार्ता भएको थियो ।