![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Cover~Shivahari2025-02-14-06-40-09.jpeg)
त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिनासम्बन्धी विज्ञ टोलीले साढे पाँच महिना लगाएर तयार पारेको २१० पेज लामो प्रतिवेदन सार्वजनिक गर्ने र कार्यान्वयन गर्नुको सट्टा गुपचुप राख्ने प्रपञ्च भएको छ । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली र सहकुलपति शिक्षामन्त्री विद्या भट्टराईले प्रतिवेदन कार्यान्वयनमा सक्रियता देखाएका छैनन् । जबकि समितिको प्रतिवेदन १५ दिनमै कार्यान्वयनमा लैजाने भनेर मापदण्ड पनि बनाइएको थियो ।
स्रोतका अनुसार कार्यान्वयन गर्दा सत्तारूढ दलनिकट व्यक्तिसमेत कारबाहीको दायरामा आउन सक्ने देखिएपछि उच्च राजनीतिक नेतृत्व नै प्रतिवेदन गुपचुप राख्ने प्रपञ्चमा लागेका हुन् । समितिले बुझाइसकेको भए पनि प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयले आफूकहाँ प्रतिवेदन नआएको अस्वाभाविक प्रतिक्रिया दिएका छन् ।
त्रिविको करिब एक हजार रोपनी जग्गा हराएको वा दुरुपयोग भएको विवरण समेटिएको प्रतिवेदन २ पुसमै त्रिविको जग्गा छानबिनसम्बन्धी समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा प्रधानमन्त्री ओलीलाई बुझाएको थियो । तर, प्रतिवेदन सार्वजनिक गर्ने, छलफल चलाउने र कार्यान्वयनमा लैजानुको साटो उल्टै गायब पारिएको छ ।
छानबिन समितिका सदस्य जानकीबल्लभ अधिकारीका अनुसार प्रतिवेदन तीन कपी प्रकाशन गरी प्रधानमन्त्री, शिक्षामन्त्री र शिक्षासचिवलाई बुझाइएको थियो । उनका अनुसार प्रतिवेदनमा त्रिविको कैयौँ रोपनी जग्गा हिनामिना भएको औँल्याइएको छ । र, त्यस जग्गालाई आफ्नो बनाउने जिम्मा त्रिविको हुन्छ ।
अर्कोतर्फ प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयले नै प्रतिवेदन आफूहरूकहाँ नभएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा नरहेको र सम्बन्धित मन्त्रालयमा पठाइएको बताए । ‘प्रतिवेदन सम्बन्धित मन्त्रालयमा छ । प्रधानमन्त्रीलाई बुझाए पनि त्यसको आवश्यकताका आधारमा शिक्षा मन्त्रालयमै जान्छ । त्यसलाई कार्यान्वयनमा लैजाने पनि सम्बन्धित मन्त्रालयकै जिम्मा हुन्छ । र, यसमा उहाँहरू पन्छिन पाउनुहुँदैन । मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने अवस्था भयो भने त्यही मन्त्रालयले नै पेस गर्छ,’ आचार्यले नयाँ पत्रिकासँग भने ।
प्रधानमन्त्री कार्यालयले प्रतिवेदन विभागीय मन्त्रालयमा पठाएको बताए पनि शिक्षा मन्त्रालयले नआएको दाबी गरेको छ । शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले प्रतिवेदन मन्त्रालयमा आइनसकेको बताए । ‘प्रतिवेदन आएको भए मलाई थाहा हुन्थ्यो । तर, मकहाँ आएको छैन । बाटोमै होला । मन्त्रीज्यू बिरामी भएर केही दिनदेखि बिदामा हुनुहुन्छ, त्यसकारण पनि नआएको हो कि !’
त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले जग्गासम्बन्धी प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको र त्यसबारेको प्रगति आफूलाई थाहा नभएको बताए । ‘प्रधानमन्त्रीज्यूलाई अध्ययनको लागि सो प्रतिवेदन बुझाइएको थियो । समिति पनि सरकारले नै गठन गरेको हो । कार्यान्वयन गर्ने–नगर्ने सरकारकै कुरा हो,’ उनले भने ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १८ जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको थियो । त्रिताल बिरामी परेपछि समिति सदस्य महेन्द्रकुमार थापा संयोजक बने । सदस्यमा जानकीबल्लभ अधिकारी र प्रेमसागर चापागाईं थिए ।
समितिले १५ मंसिरमा प्रतिवेदन तयार पारी १६ मंसिरमै शिक्षामन्त्रीलाई बुझाएको थियो । पछि कार्यान्वयनमा लैजान भन्दै समितिले शिक्षामन्त्रीसहितको उपस्थितिमा त्रिवि कुलपति एवं प्रधानमन्त्री ओलीलाई २ पुसमा प्रतिवेदन बुझाएको थियो ।
समिति सदस्य अधिकारीले प्रतिवेदनले राजनीतिक संघसंगठनका व्यक्ति पनि जग्गामा जोडिएको संकेत देखाएकाले कार्यान्वयनमा ल्याउन नखोजिएको हुन सक्ने आशंका गरे । ‘प्रतिवेदनमाथि के–के भइरहेको छ, हामीलाई थाहा छैन । तर, कार्यान्वयन गर्दा त्रिविकै हितमा हुन्थ्यो, लागू नगर्दा कसैलाई सन्चो भइरहेको होला,’ उनले भने, ‘प्रधानमन्त्री नै त्यो संस्थाको कुलपति हुनुहुन्छ । कार्यान्वयनमा केही समस्या नहुनुपर्ने हो । तर, राजनीतिक संघसंगठनका व्यक्ति जोडिएकाले कार्यान्वयनमा ल्याउन नखोजिएको हो कि !’
तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले हरहालतमा प्रतिवेदन कार्यान्वयन हुनुपर्ने बताइन् । ‘प्रतिवेदन जुनसुकै हालतमा पनि कार्यान्वयन गर्नुपर्छ, टियूको धेरै जग्गा व्यक्ति र संघसंस्थाको नाममा गएको छ, यसमा सल्टाउनुपर्ने धेरै विषय छन्,’ श्रेष्ठले भनिन्, ‘इच्छाशक्ति भयो भने भूमि मन्त्रालयसँग मिलेर सल्ट्याउन सकिन्छ । कमजोर व्यवस्थापन र दलीयकरण भएपछि त्रिविको जग्गामा धेरैको आँखा लागेको छ । सरकारले उक्त प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्छ ।’ उनले संस्कृत विश्वविद्यालयको जग्गा छानबिन सम्बन्धमा पनि समिति गठन गरेको बताउँदै त्यसबारेमा पनि सरकारले चासो नदेखाएको बताइन् ।
त्रिविको जग्गा कति, कसको राज ?
छानबिन समितिका सदस्य अधिकारीका अनुसार थोरै समयमा तयार पारिए पनि प्रतिवेदनमा धेरै विषय उजागर छन् । उनका अनुसार हाल त्रिवि कम्पाउन्डभित्र रहेको जग्गाको क्षेत्रफल ५८ सय रोपनी छ । ‘हामीले अध्ययन गर्दा ५८ सय रोपनी जग्गा त्रिविको लालपुर्जामा देखिएको छ, तर कतिपय जग्गा मालपोतमा हेर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘प्रतिवेदनअनुसार त्यसभित्रका जग्गा कैयौँ व्यक्ति र संघसंस्थाले दुरुपयोग गरेका छन् ।’
समितिले कम्पाउन्डबाहिर पनि त्रिविको एक हजार रोपनी जग्गा औँल्याएको छ । विसं २०१३ मा अधिग्रहणका लागि तोकिएको त्रिवि कम्पाउन्डबाहिरको एक हजार रोपनी जग्गा गायब छ । यसबारे ०१३ मा प्रकाशित राजपत्र र गोरखापत्रमा छापिएको सूचना भेटिएको छ । समितिले सूचना र राजपत्रको कपीसहित प्रतिवेदन बुझाएको छ । उक्त राजपत्रअनुसार उत्तरपट्टि बल्खुखोला, कीर्तिपुर बजारदेखि कालिमाटी आउने तेर्सो बाटो, बागमती नदीको पूर्व सिमाना र दक्षिणपट्टि रहेको जंगलसम्म त्रिविको जग्गा फैलिएको छ । हाल काठमाडौं महानगरपालिका–१४को कार्यालय भवन, कीर्तिपुर नगरपालिका– १० को कार्यालय भवन पनि त्रिविकै जग्गामा बनेको छ ।
त्रिविको जग्गामा पेट्रोलपम्पदेखि ल्याब्रेटरी स्कुलसम्म सञ्चालन भइरहेको प्रतिवेदनमा औँल्याइएको छ । कैयौँ जग्गा व्यक्ति र संघसंस्थाले निजी हितमा प्रयोग गरिरहेका छन् । ल्याब्रेटरी स्कुलमा कांग्रेस नेता तथा शिक्षाकर्मी उमेश श्रेष्ठ र एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतको लगानी छ । यो स्कुलले १०९ रोपनी जग्गा जबर्जस्ती प्रयोग गर्दै आइरहेको छ । २०६० सालदेखि त्रिविले जग्गा छाड्न निर्देशन दिएपछि ल्याब्रेटरीले छाड्न अटेरी गर्दै आइरहेको छ । उनका अनुसार त्रिविको केही जग्गामा प्राध्यापक संघ र कर्मचारी संघले पेटोलपम्मसमेत चलाएका छन् ।
कम्पाउन्डबाहिर केही व्यक्तिले उपभोग गरिरहेको जग्गाको लालपुर्जा तथा प्रमाण माग्दा उपभोगकर्ताले प्रमाण पेस गर्न नसकेको छानबिन समितिको दाबी छ । ‘के कारणले व्यक्ति र संघसंस्थाको नाममा गयो भन्ने प्रमाण खुलेन,’ समिति सदस्य अधिकारीले भने ।
यस्तै, छानबिन समितिले त्रिविको जग्गा उपत्यकाका अन्य ठाउँमा पनि रहेको औँल्याएको छ । तर, कतिपय स्थानको ठ्याक्कै प्रमाण नभेटिएपछि थप अध्ययन गर्नुपर्ने पनि समितिले सुझाव दिएको छ । समितिको प्रतिवेदनअनुसार नैकापमा त्रिविकोे १२५ रोपनी जग्गा छ । तर, त्यसको लगत कायम गर्न बाँकी रहेको छ ।
समितिका अनुसार ललितपुर लुभुमा त्रिविको ३७५ रोपनी जग्गा छ । सो जग्गा पनि संरक्षण गर्न समितिले सुझाव दिएको छ । बारामा इन्डो नेपाल कटन मिल रहेको ठाउँमा ६३ बिघा जग्गा त्रिविको नाममा किनिएको थियो । तर, सो जग्गा ३२ लाखमा सूर्य टोबाकोलाई बेचेको पाइएको छ । समितिले यसबारे पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
त्रिविको कम्पाउन्डबाहिर कीर्तिपुरमै हजार रोपनी जग्गा दुरुपयोग भएको छ : छानबिन समिति
छानबिन समितिका सदस्य जानकीबल्लभ अधिकारीका अनुसार हाल त्रिविका नाममा रहेको जग्गा ५८ सय रोपनी छ । तर, त्यसभित्र पनि कैयौँ व्यक्ति र संघसंस्थाले दुरुपयोग गरेका छन् । समितिले कीर्तिपुरस्थित कम्पाउन्डबाहिर पनि त्रिविको एक हजार रोपनी जग्गा रहेको पत्ता लगाएको छ । यसबारे ०१३ मा प्रकाशित राजपत्र र गोरखापत्रमा छापिएको सूचना भेटिएको छ ।
अधिग्रहणका लागि तोकिएको त्रिवि कम्पाउन्डबाहिरको उक्त जग्गा गायब भएको छानबिन प्रतिवेदनमा उल्लेख छ । ०१३ सालमा प्रकाशित राजपत्रअनुसार उत्तरपट्टि बल्खुखोला, कीर्तिपुर बजारदेखि कालीमाटी आउने तेर्सो बाटो, बागमती नदीको पूर्वी सिमाना र दक्षिणपट्टि रहेको जंगलसम्म त्रिविको जग्गा फैलिएको थियो । हाल काठमाडौं महानगरपालिका– १४को कार्यालय भवन, कीर्तिपुर नगरपालिका– १० को कार्यालय भवन पनि त्रिविकै जग्गामा बनेका छन् ।
त्रिविको जग्गामा पेट्रोल पम्पदेखि ल्याब्रोटरी स्कुलसम्म सञ्चालन भइरहेको प्रतिवेदनमा औँल्याइएको छ । ल्याब्रोटरी स्कुलमा कांग्रेस नेता तथा शिक्षाकर्मी उमेश श्रेष्ठ र एमाले नेता कृष्णगोपाल श्रेष्ठलगायतको लगानी छ । यो स्कुलले १०९ रोपनी जग्गा जबर्जस्ती प्रयोग गर्दै आइरहेको छ । त्रिविको केही जग्गामा प्राध्यापक संघ र कर्मचारी संघले पेट्रोल पम्मसमेत चलाएका छन् । त्यस्तै, छानबिन समितिले त्रिविको जग्गा उपत्यकाका अन्य ठाउँमा पनि रहेको औँल्याएको छ ।
तर, कतिपय स्थानको ठ्याक्कै प्रमाण नभेटिएपछि थप अध्ययन गर्नुपर्ने पनि समितिले सुझाब दिएको छ । समितिको प्रतिवेदनअनुसार नैकापमा त्रिविकोे १२५ रोपनी जग्गा छ । तर, त्यसको लगत कायम गर्न बाँकी रहेको छ । त्यस्तै, ललितपुर लुभुमा ३७५ रोपनी जग्गा छ । सो जग्गा पनि संरक्षण गर्न समितिले सुझाब दिएको छ ।
बारामा इन्डो–नेपाल कटन मिल रहेको ठाउँमा ६३ बिघा जग्गा त्रिविको नाममा किनिएको थियो । तर, सो जग्गा ३२ लाखमा सूर्य टोबाकोलाई बेचेको पाइएको छ । समितिले यसबारे पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
संसदीय समितिले माग गर्दा पनि मन्त्रालयले दिएन प्रतिवेदन, आज फेरि पत्र काट्दै
०८० चैतमा त्रिविको जग्गा छानबिन गर्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यसकै आधारमा तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठको प्रस्तावमा मन्त्रिपरिषद्ले छानबिन समिति गठन गरेको थियो । समितिले १५ मंसिर ०८१ मा प्रतिवेदन तयार गर्यो । २ पुसमा संसदीय समितिले शिक्षा मन्त्रालयलाई प्रतिवेदन उपलब्ध गराउन लिखित निर्देशन दियो । त्यही दिन छानबिन समितिले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो ।
तर, मन्त्रालयले सार्वभौम संसद्को समितिलाई प्रतिवेदन नै दिएन । समितिको बुधबारको बैठकले पुनः प्रतिवेदन माग्ने निर्णय गरिसकेको छ । शुक्रबार मन्त्रालयलाई पत्राचार गरिने सभापति अम्मरबहादुर थापाले बताए । ‘प्रतिवेदन उपलब्ध गराउन हामीले यसअघि दिएको निर्देशन मन्त्रालयले टेरेन । शुक्रबार फेरि पत्र पठाउँदै छौँ,’ उनले भने, ‘सरकारले प्रतिवेदन कार्यान्वयन गर्नेवाला नै छैन, राज्यलाई फाइदा हुने काममा किन जोड दिन्थ्यो र ?’
२ पुसमा प्रतिवेदन बुझ्दैप्रधानमन्त्री ओलीले भनेका थिए– कार्यान्वयनमा ल्याइन्छ, हात हालेपछि टुंगोमा पुर्याइन्छ
जग्गा त्रिविकै नाममा ल्याइनेछ र हिनामिना गर्ने जोकोही भए पनि कारबाही गरिन्छ । छानबिन समितिले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिनेछ । समितिका सिफारिस तत्काल कार्यान्वयन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिनेछ ।
छानबिन समिति सदस्य जानकीबल्लभ अधिकारीको आशंका : दलका व्यक्ति जोडिएकाले कार्यान्वयनमा नल्याइएको हो कि !
प्रतिवेदनमाथि के–के भइरहेको छ, थाहा छैन । कार्यान्वयन गर्दा त्रिविकै हितमा हुन्थ्यो, लागू नगर्दा कसैलाई सन्चो भइरहेको होला । प्रधानमन्त्री नै कुलपति हुनुहुन्छ । कार्यान्वयनमा केही समस्या नहुनुपर्ने हो । तर, दलका व्यक्ति जोडिएकाले कार्यान्वयनमा ल्याउन नखोजिएको हो कि !
तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठ भन्छिन्–प्रतिवेदन जुनसुकै हालतमा तत्काल कार्यान्वयन गर्नुपर्छ
टियूको धेरै जग्गा व्यक्ति र संघसंस्थाको नाममा गएको छ, यसमा सल्टाउनुपर्ने धेरै विषय छन् । इच्छाशक्ति भयो भने भूमि मन्त्रालयसँग मिलेर सल्टाउन सकिन्छ । कमजोर व्यवस्थापन र दलीयकरण भएपछि जग्गामा धेरैको आँखा लागेको छ । प्रतिवेदन जुनसुकै हालतमा कार्यान्वयन गर्नुपर्छ ।