![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/fly-over-gwarko2025-02-15-08-11-39.jpeg)
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्काे फ्लाई ओभरको निर्माण चैत मसान्तसम्म सकिने बताएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले हालसम्म परियोजनाको भौतिक प्रगति ८२ प्रतिशत पुगेको बताए ।
निर्माण कम्पनी आरसी, समानान्तर र रेलिग्रे जेभीले एक महिना काम छाडेर २२ माघदेखि काम सुरु गरेका छन् । त्यसमा चैत मसान्तसम्म काम सक्ने गरी काम भइरहेको मन्त्री दाहालले बताए ।
‘ललितपुरको ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्ने कार्य माघ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकोमा ८२ प्रतिशत कार्य सम्पन्न भएको छ । फिल्डमा देखिएका केही प्राविधिक विषयलाई सम्बोधन गरी चैत मसान्तभित्र कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ,’ उनले बताए ।
यस्तै, सात महिनाको अवधिमा मन्त्रालयले २८.१५ प्रतिशत बजेट खर्च गरेको पनि उनको भनाइ छ । मन्त्रालयले यो सात महिनामा दुई लेनका दुई सय ४६ किमि र दुई लेनभन्दा माथिको सडक ३०.५८ किमि सडक कालोपत्रे भएको बताएको छ ।