![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/aaha-rara2025-02-15-07-37-35.jpeg)
२४औँ संस्करणको आहारारा पोखरा गोल्डकपको उपाधिका लागि शनिबार ६ पटकको विजेता नेपाल पुलिस क्लबले उज्वेकिस्तानको ब्ल्याक बुल्सको सामना गर्दै छ । पोखरा रंगशालामा हुने फाइनलको विजेताले रेकर्ड बनाउने पक्का छ । पुलिसले बाजी मारे सातपटकको च्याम्पियन बन्नेछ । पुलिस च्याम्पियन हुँदा प्रतियोगिताकै सर्वाधिक विजेता बन्नेछ । मनाङ मर्स्याङ्दीले पनि समान ६ पटक उपाधि जितेको छ ।
विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउनेछन् । फाइनलका अनुभवी पुलिसलाई स्तब्ध पारे ब्ल्याक बुल्स पहिलो सहभागीमै उपाधि जित्ने क्लब बन्नेछ । यसै रोमाञ्चक समीकरणका कारण उपाधि भिडन्त प्रतिस्पर्धात्मक बन्ने देखिन्छ । ब्ल्याक बुल्सले सेमिफाइनलमा पाँचपटकको च्याम्पियन थ्री स्टारमाथि ४–० को सानदार जित निकालेको थियो । नेपाल पुलिसले ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजमाथि १–० को जित हात पार्यो । आहारारा गोल्डकपको विगत इतिहास पल्टाउँदा पुलिस अहिलेसम्मकै सहभागीमध्ये सफल क्लब हो ।
विभागीय क्लब पुलिसको यो ११औँपटक उपाधि भिडन्त हो । चारपटकको उपविजेता बनेको पुलिस ०७६ सालपछि अन्तिम दुईमा पुगेको हो । यसकारण पनि पुलिससँग फाइनलमा कसरी खेल्नुपर्छ भन्ने अनुभव छ । यसविपरीत उज्वेकिस्तान भने पहिलोपटक पोखरामा प्रतियोगिता खेल्न आएको क्लब हो । युरोपियन शैलीमा प्रतिस्पर्धा गर्ने ब्ल्याक बुल्सले नेपालको घरेलु फुटबलमा नाम चलेका क्लबलाई सहजै पाखा लगाउन सफल भएको छ । डेब्युमै उपाधिको नजिक पुगेको ब्ल्याक बुल्सले पुलिसविरुद्ध सम्भवतः फरक रणनीति अपनाउनेछ ।
शुक्रबार प्रिम्याच कन्फेरेन्समा पुलिस र ब्ल्याक बुल्सले ट्रफी उचाल्न तयार भएको जनाएका छन् । पुलिसका प्रशिक्षक चेतन घिमिरेले खेलाडीका रूपमा क्लबलाई तीनपटक उपाधि दिलाएका थिए । प्रशिक्षकका रूपमा उनी पोखराबाट ट्रफीका साथ फर्कन चाहन्छन् । घिमिरेले फाइनलका लागि मानसिक र शारीरिक रूपमा तयार रहेको बताए । ‘विपक्षी राम्रो छ, तर हामी मानसिक रूपमा तयार छौँ,’ उनले भने, ‘हामी ११औँपटक फाइनल खेल्दै छौँ र सातौँपटक ट्रफी उचाल्ने योजनामा छौँ ।’ पुलिसको राम्रो पक्ष भनेको अहिले टिम ११ मा युवा खेलाडीले स्थान बनाएका छन् ।
पुलिसको खेलमा तीव्रता
कुनै समय खेलाडीका रूपमा जावलाखेलबाट फुटबल खेलेका ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले उपाधि भिडन्त सधैँ ५०–५० प्रतिशत हुने बताए । ‘मेरो अनुभवमा फाइनल सधैँ ५०–५० प्रतिशत हुने गर्छ, यहाँसम्म यात्राका गरेको क्लब कमजोर हुँदैन,’ उनले भने, ‘हामीले पहिलोभन्दा दोस्रो खेलमा राम्रो प्रदर्शन गर्यौँ । पुलिसजस्तै हामी पनि फाइनल खेल्न तयार छौँ ।’ आहारारा गोल्डकपकै अनुभवी क्लब पुलिसको खेल र रणनीतिबारे आफूले जानकारी लिएको उनको भनाइ छ ।
‘मैले पुलिसको खेल हेरेको थिएँ, उनीहरूसँग स्टार खेलाडी नभए पनि मैदानमा फास्ट खेल्ने खेलाडी छन्,’ अब्दुलाजितले भने, ‘अहिलेसम्म पुलिसले प्राविधिक खेल खेलेको छ, यो रणनीतिमा विपक्षीमाथि दबाब सहजै लगाउन सकिन्छ, यसकारण पनि फाइनल भिडन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।’