![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/cup2025-02-15-06-51-52.jpeg)
सात वर्षपछि आयोजना हुन लागेको आइसिसी पुरुष च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको विजेताले ३३ करोड १९ लाख नेपाली रुपैयाँ पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले शुक्रबार पुरस्कार धनराशि घोषणा गरेको हो । यसपटक पुरस्कार धनराशिमा दोहोरो वृद्धि भएको छ । सन् २०१७ मा च्याम्पियन्स ट्रफी हुँदा च्याम्पियनले १७ करोड रुपैयाँ पाएको थियो । पाकिस्तानको लाहोरमा १९ फेबु्रअरीबाट सुरु हुने प्रतियोगिताको उपविजेताले १५ करोड ५५ लाख रुपैयाँ हात पार्नेछ ।
पाकिस्तानको लाहोर, कराँची र रावलपिन्डीबाहेक दुबईमा आयोजना हुने च्याम्पियन्स ट्रफीमा आठ टोलीले दुई सातासम्म प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल ९ मार्चमा लाहोरमा हुनेछ । आयोजक पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले च्याम्पियन्स ट्रफीका लागि लाहोर रंगशालालाई स्तरोन्नति गरेको छ ।
प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिने दुई टोलीले समान सात करोड ७७ लाख रुपैयाँ जित्नेछन् । यो पुरस्कार राशि २०१७ संस्करणको तुलनामा ५३ प्रतिशतले बढी हो । यसैगरी, पाँचौँ र छैटौँ स्थानमा रहने टोलीले चार करोड ८४ लाख रुपैयाँ जित्नेछन् । सातौँ र आठौँ स्थानका टोलीले एक करोड ९३ लाख रुपैयाँ हात पार्ने आइसिसीले जनाएको छ ।
च्याम्पियन्स ट्रफीमा सहभागी कुनै पनि टिम रित्तो हात फर्कनेछैनन् । प्रत्येक खेलमा विजयी हुने टोलीले पनि नगद पुरस्कार पाउनेछ । समूह चरणमा एक खेल जित्दा पनि टोलीले ४७ लाख रुपैयाँ हात पार्ने आइसिसीले जनाएको छ । यसपटक सहभागी आठै टोलीले प्रतियोगिताको तयारीस्वरूप दुई करोड रुपैयाँ पाएका छन् । आइसिसी पुरुष च्याम्पियन्स ट्रफी विश्वका शीर्ष आठ एकदिवसीय टोलीसँग प्रत्येक चार वर्षमा हुनेछ ।