
नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख गरिएको छ। पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ मनशान्त घिमिरेसहित चराविज्ञहरू हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा उक्त चरालाई धरान फरेस्टमा अभिलेख गरेको हो।
समाजका अध्यक्ष घिमिरेले यो नेपालका लागि दोस्रो अभिलेख भएको जानकारी दिँदै तीन वर्षअघि नेपालका लागि पहिलो अभिलेख इलाम जिल्लाको दानाबारीमा गरिएको बताए। २५ फागुन ०७८ फागुनमा चराविज्ञत्रय सञ्जीव आचार्य, क्यारोल इन्स्किप र टीकाराम गिरीको टोलीले त्यसताका चराको अभिलख गरेको थियो।
उनका अनुसार यो चाँचर भारतदेखि पूर्व बंगलादेश, भुटान, म्यान्मार, लाओस, थाइल्यान्ड र भियतनामसम्म तथा उत्तरमा चीनदेखि दक्षिण कोरियासम्म पाइन्छ। यसले जाडोमा तल्लो तटीय क्षेत्र र गर्मी मौसममा चीनका पहाडी क्षेत्रहरूमा विचरणसमेत गर्ने गर्दछ। यो चरालाई अंग्रेजीमा ‘ब्ल्याक ब्रेस्टेड थ्रस’ भनिन्छ।
कोशी प्रदेशको मोरङ र सुनसरीमा अवस्थित समुद्री सतहबाट एक सयदेखि एक हजार तीन सय मिटरसम्म करिब ५० हजार हेक्टरमा फैलिएको धरान फरेस्ट चराका लागि महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेको चराविज्ञ घिमिरेले बताए। बर्ड लाइफ इन्टरनेसनलले पहिचान गरेको नेपालका ४२ वटा क्षेत्रमध्ये यस वनलाई एक महत्त्वपूर्ण वनका रूपमा लिइन्छ।