
बाल श्रमशोषणमा संलग्न एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्मालाई मुद्दा नचलाउने निर्णय गर्दै उन्मुक्ति दिइएकोमा सांसद अशोककुमार चौधरीले आक्रोश व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले कमलरी प्रथाको पुनरर्स्थापना त गर्न खोजेको होइन भनेर प्रश्न ठाएका छन् ।
‘यो सरकार न्यायको होइन, अन्यायको संरक्षक बन्दै गएको छ। चोरलाई चौतारा, निर्दाेषलाई शूली चढाउने शासकका रूपमा इतिहासमा दर्ज हुँदै गएको छ,’ उनले भने, ‘११ वर्षअघि कमलरी मुक्तिको घोषणा गरेर सरकारले थारू चेलीहरूलाई आशा जगाएको थियो। तर, विडम्बना आज यही सरकारको पालामा एक सासदले दाङकी थारू नाबालिकलाई बन्धक बनाएर दासीसरह शोषण गरिन् । काठमाडौं महानगरले उद्धार गयो । तर, कारबाही शून्य । यदि आठ–आठ वर्षसम्म एउटी नाबालिकालाई एउटा सांसदले बन्धक बनाएर राख्ने र राजनीतिक आडमा अपराधीलाई उन्मुक्ति दिने र सरकार मूकदर्शक बनेर बसिरहने हो भने नेपाल सरकारले खुलेरै घोषण गरिदिनुपर्याे, कमलरी प्रथाको पुनर्स्थापन भइसक्यो भनेर ।’
सरकारले अपराधीलाई जोगाइरहेका भन्दै उनले प्रश्न गरे, ‘यो सरकार आफ्ना नेता–कार्यकर्तालाई बचाउनलाई, भ्रष्टाचारलाई जोगाउनलाई दलाल, ठग र बिचौलियाहरूलाई उन्मुक्ति दिनका लागि बनेको हो ? यदि होइन भने अपराधीमाथि कारबाही किन हुँदैन ?’