
मोबाइल चोरीको विवादमा दुई समूहबिच झगडा हुँदा काठमाडौंको कुमारीगालमा एक युवकको हत्या भएको छ । हत्यामा संलग्त तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत १७ माघको बिहान एउटा चोरी भएको मोबाइलको विषयमा भएकाे झगडामा अमृत भन्ने संघर्ष कार्कीको हत्या भएको हो । घटनामा संलग्न युनिक लामा भन्ने नुर्वु शेर्पा, विशाल तामाङ र क्षितिज कार्की पक्राउ परेका छन् । अर्का एक व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए । पक्राउ परेकाहरू विगतमा पनि पक्राउ परी छुटेको अनुसन्धानमा खुलेको छ । ‘यो घटनाले हाम्रो समाजको बिम्ब पनि देखाउँछ,’ एसपी बोहराले भने, ‘एउटा सानो मोबाइलका कारण व्यक्तिको ज्यान गएको छ ।’ मृतक कार्की काभ्रपलोञ्चोक धुलिखेल–९ स्थायी घर भई नयाँबस्ती बस्दै आएका थिए।
चोरीको मोबाइल कसले लिने भन्ने विषयबाट झगडा सुरु भएकोमा छुरा हानिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मेलन गरी मंगलबार घटना सार्वजनिक गरेको हो।