मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
२o८१ माघ २६ शनिबार १८:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद

आहा ! रारा पोखरा गोल्डकप : पुलिस अन्तिम चारमा, बिग्रेड ब्वाइज बाहिरियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार १८:o१:oo

नेपाल पुलिस क्लबले  पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा अन्तिम चारमा स्थान बनाउँदा पाहुना टोली बेलायतको बिग्रेड ब्वाइज क्लब भने बाहिरिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले पाहुना टोली बिग्रेडलाई २–० गोलअन्तरले पराजित गरेको हो।

जितसँगै अन्तिम चारमा स्थान बनाएको पुलिसले चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी क्लबबिच २८ माघमा हुने क्वार्टरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि ३० माघमा सेमिफाइनलमा भिड्नेछ। 

प्रतियोगिताको २४औँ संस्करणसम्म आइपुग्दा पुलिसले ६ पटक उपाधि उचालिसकेको छ भने पहिलोपटक सहभागिता जनाएको पाहुना टोली बिग्रेड भने पहिलो खेलमा पराजित हुँदै घर फर्केको छ। प्रतियोगितामा पुलिसले चार वर्षपछि सेमिफाइनलको यात्रा बनाएको हो।

खेलको पहिलो हाफमा पुलिसले दुई गोल गरेको थियो, दोस्रो हाफमा दुवै टोलीले कुनै गोल गर्न सकेनन्। खेलको सुरुदेखि नै पुलिस आक्रामक रूपमा मैदानमा प्रस्तुत भएको थियो। पुलिस र बिग्रेड दुवैले केही अवसर सिर्जना गरे पनि उपयोग भने गर्न सकेनन्।

२७औँ मिनेटमा विवेक पाण्डेले हानेको कर्नर प्रहारले जाली चुमेपछि पुलिसले खेलमा अग्रता लिएको थियो। विवेकले कर्नरबाट हानेको बल सेकेन्ड बारमा लाग्दै पोस्टको दिशा लिन सफल भएको थियो। ४०औँ मिनेटमा कप्तान राम बाजीले हेडमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। कर्नरबाट विवेक पाण्डेले हानेको बल पेनाल्टी क्षेत्रबाट प्लेअर अफ द म्याचसमेत रहेका रामले हेडमार्फत बललाई जाली चुमाउन सफल भएका थिए।

प्रतियोगिताअन्तर्गत आइतबार थ्री स्टार क्लब र मच्छिन्द्र क्लबबिच खेल हुनेछ।