मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
२o८१ माघ २५ शुक्रबार १o:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माझी समुदायको प्रमुख चाड लदीमा सार्वजनिक बिदा दिन माग

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई ज्ञापनपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार १o:५८:oo

माझी समुदायले आफ्नो प्रमुख चाड लदी (कोशी) पर्वको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गरेका छन् । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल माझी उत्थान संघले लदी (कोशी) पर्वको दिन सार्वजनिक बिदा दिनुपर्ने माग गरेको हो ।

प्रत्येक वर्षको फागुन महिनाको तेस्रो मंगलबार पर्ने लदि (कोशी) पूजा यस वर्ष २०८१ साल फागुन २० गते परेको र उक्त दिन सार्वजनिक बिदा दिनुपर्ने मुख्यमन्त्री लामालाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

छुट्टै पहिचान र विशेषता बोकेको माझी जातिको प्रमुख पर्व लदी (कोशी) पूजाको अवसरमा दिइने बिदाले सम्पूर्ण आदिवासीलगायत प्रदेशमा बसोबास गर्ने माझी समुदायप्रति सम्मान व्यक्त हुने संघका महासचिव बबिन्द्रलाल माझीले बताए । 

महासचिव माझीका अनुसार आफ्नो छुट्टै भाषा, धर्म र संस्कार–संस्कृति भएको माझी समुदायको महत्त्वपूर्ण पर्वमा सार्वजनिक बिदा दिन माग गरिएको हो । छुट्टै पहिचानसहित नेपालको मध्यपहाडी, भित्री मधेश र तराईका जिल्लाहरूमा बसोबास रहेको माझी समुदाय विशिष्ट जाति रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

‘परम्परादेखि नदी, खोलामा निर्भर माझीहरूको पुर्ख्यौली पेसा माछा मार्ने र डुंगा चलाउने भए तापनि हाल कृषि पेसालाई मुख्य पेसाको रूपमा अंगालेका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरूको बसोबास बढीजसो नदी किनारमा रहेको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा एक लाख ११ हजार ३५२ माझीहरूको जनसंख्या रहेको छ । तराईमा रहने माझीहरूले कुश्वार लेख्ने हुनाले यो संख्या अरू धेरै हुन सक्ने उनीहरूको दाबी छ । माझीहरूको कुल जनसंख्यामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४१ हजार ६७१ अर्थात् (३७.४२ प्रतिशत) बसोबास गर्ने भएकाले प्रमुख चाड लदी (कोशी) पूजाको दिन सार्वजनिक बिदा दिन माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लामाले सबै भाषा, धर्म र सांस्कृतिक चाडपर्वको संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताए । भाषा ऐन कार्यान्वयनपश्चात् प्रदेशमा रहेका आदिवासी तथा सीमान्तकृत जातिको विषयमा अध्ययन–अनुसन्धान कार्यमा काम अघि बढाउन सहज भएको उनको भनाइ थियो । 

मुख्यमन्त्री लामाले सरकार सांस्कृतिक सम्पदासँगै भाषा–साहित्यलाई पर्यटनका माध्यमबाट प्रवर्द्धन गरी आय-आर्जनमा जोड्न प्रयत्नरत रहेको उल्लेख गर्दै प्रदेश सरकारले लदी पर्वको बिदाको सन्दर्भमा आवश्यक समन्वय गरेर निर्णय लिने प्रतिबद्धता व्यक्त गरे ।