मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
२o८१ माघ २५ शुक्रबार o८:३६:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनओसीको निर्वाचनमा सहभागी भएका संघहरूलाई राखेपले दियो अन्तिम मौका

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार o८:३६:oo
  • नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी संघहरूलाई यसअघि सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएको भन्दै राखेपले सफाइ पेस गर्न तीन दिनको अन्तिम मौका दिएको छ

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सात सदस्यीय कार्यसमिति बैठकले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनमा सहभागी संघहरूलाई कानुनअनुसार चल्न अन्तिम मौका दिएको छ । एनओसीको निर्वाचन कानुनसम्मत नभएको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया अघि बढाइएको राखेपले जनाएको छ । 

दुई साताअघि राखेपको ११९औँ बोर्ड बैठकले नेपाल राफ्टिङ एन्ड क्यानोइङ, बास्केटबल, आर्चरी, भलिबल, स्की, साइक्लिङ, ब्याडमिन्टन, जिम्न्यास्टिक, टेनिस, जुडो, गल्फ, तेक्वान्दो, कराँते र बक्सिङ संघलाई स्पष्टीकरण सोधेको थियो । ती संघहरूले चित्तबुझ्दो जवाफ नदिएका कारण पुनः सफाइ पेस गर्न तीन दिनको समयसीमासहित अन्तिम मौका दिइएको सदस्यसचिव टंकलाल घिसिङले बताए । 

‘अदालत र सरकारको निर्देशनविपरीत अवैधानिक रूपमा भएको एनओसी निर्वाचनमा सहभागी संघहरूलाई थप तीन दिनभित्र सफाइ पेस गर्न समय दिएका छौँ,’ घिसिङले भने, ‘यसपटक पनि चित्तबुझ्दो जवाफ नदिए उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढ्छ ।’ उनका अनुसार जवाफ चित्तबुझ्दो नभए सम्बन्धित खेल संघ वा महासंघको बैंक खाता रोक्कादेखि पदाधिकारीलाई वैदेशिक सहभागितामा पूर्ण रोक लगाइनेछ । 

सदस्यसचिव घिसिङले ऐनमै तोकिएको व्यवस्था भएकाले संघहरूलाई अन्तिम मौका दिइएको जनाए । ‘राखेपको ०७७ को ऐनअनुसार थप तीन दिनको समय दिएका हौँ, त्यसमा पनि जवाफ चित्तबुझ्दो नआए कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने । यसैगरी, सरकारी भौतिक पूर्वाधार प्रयोगमा समेत रोक्कालगायतको कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए । 

राखेप कार्यसमिति बैठकले एनओसीको बैंक खाता रोक्का, वैदेशिक सहभागिता एवं अन्य कार्यक्रममा सहभागितामा रोक्का गर्ने निर्णय गरेको छ । भौतिक सम्पत्तिको अनधिकृत उपयोगमा रोक्काका लागि सम्बन्धित नियामक निकायमा पत्राचार गर्ने निर्णय भएको घिसिङले बताए । गत साता संघका पदाधिकारीलाई छलफल गर्न एनओसीले सातदोबाटोमा रहेको केन्द्रीय कार्यालयमा बोलाएको थियो । 

बैठकमा सहभागी नहुन निर्देशन
अदालतको आदेशविपरीत विद्युतीय माध्यमबाट निर्वाचन गरेको एनओसीको कुनै पनि बैठकलगायत कामकारबाहीमा राखेपमा आबद्ध संघ तथा संस्थानलाई सहभागी नहुन निर्देशन दिएको छ । यसका लागि राखेपले सार्वजनिक सूचना जारी गर्ने भएको छ । ‘अवैधानिक रूपमा निर्वाचन गरेको एनओसीको कुनै पनि बैठकमा सहभागी नहुन सम्बन्धित संघ तथा महासंघहरूलाई सार्वजनिक रूपमै सूचित गरिनेछ,’ राखेपले जनाएको छ, ‘अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयनका लागि पटक–पटक परिषद्बाट जारी भएको निर्देशनको उल्लंघन गरेको निर्वाचनसम्बन्धी प्रक्रियालाई कानुनसम्मत मान्न सकिनेछैन ।’ 

गत मंसिरमा एनओसीको दुई कार्यकाल अध्यक्ष भइसकेका जीवनराम श्रेष्ठले तेस्रो कार्यकाल अध्यक्ष बन्न पाउने गरी विधान संशोधन गरेका थिए । त्यसपछि उनी तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए । श्रेष्ठविरुद्ध अदालतमा मानहानिको मुद्दा दायर भएको छ । उच्च अदालत पाटन तथा सर्वोच्च अदालतले समेत साधारणसभा रोक्न अन्तरिम आदेश दिएका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाले पनि एनओसीको निर्वाचनलाई मान्यता दिइनसकेको जनाइसकेका छन् । यी दुवै प्रमुख अन्तर्राष्ट्रिय संस्थाले आपसी समझदारीमा विवाद सुल्झाउन निर्देशन दिएका छन् । निर्वाचनमा २० वटा राष्ट्रिय संघले भाग लिएका थिए । 

पाँचजनाले बुझाए झुटो विवरण 
अखिल नेपाल टेबुलटेनिस संघको नामबाट प्रतिनिधित्व गरेका चतुरानन्द राजवैद्य, नेपाल उसु महासंघबाट लाक्पा छिरिङ लामा, नेपाल पौडी संघबाट अशोकरत्न बज्राचार्य, नेपाल कुस्ती संघबाट समिम मियाँ अन्सारी र नेपाल ह्यान्डबलबाट तेजबहादुर गुरुङले एनओसी निर्वाचनमा सहभागी हुन झुटो विवरण बुझाएको राखेपले जनाएको छ । राखेपले झुटो विवरण पेस गरेका पाँचजनालाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । ‘झुटो विवरण बुझाएर निर्वाचनमा सहभागी भएकालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र १६ बमोजिमको कारबाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिनेछ,’ घिसिङले भने । 

 एनओसीका चारजना सदस्यको राजीनामा 

एनओसी कार्यसमितिबाट चारजना सदस्यले राजीनामा दिएका छन् । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दसँगै तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा र हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले राजीनामा दिएका हुन् । चन्द र एन्फाका सदस्य मनीष जोशीले सदस्यबाट राजीनामा गरेका हुन् । चन्दले नैतिकताका आधारमा सदस्य पदमा बस्न उचित नरहेको ठहर गरी राजीनामा दिएको जनाएका छन् । अनलाइन निर्वाचनमा भाग नलिने शर्मा र जोशी थिए । राणा र चन्दले भने निर्वाचनमा भाग लिएका थिए । २७ मध्ये २० जना अनलाइन मतदानमा सहभागी थिए ।