मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २५ शुक्रबार o८:२o:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाली पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार o८:२o:oo

नेपाल ओलम्पिक कमिटीको पछिल्लो घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?
एक व्यक्तिको अहंले नेपाल ओलम्पिक कमिटीमा अहिलेको समस्या आएको हो । अहिले जसले आफूलाई अध्यक्ष दाबी गरिरहनुभएको छ, उहाँले नेपालको कानुनलाई हेर्नुभएको भए र अदालतको आदेशलाई पालना गर्नुभएको भए यो अवस्था आउने नै थिएन । मबाहेक अर्को कसैले ओलम्पिक कमिटी चलाउन सक्दैन भनेर उहाँ हतारिनुभएकाले अहिलेको अवस्था आएको हो । हिजो आफू अध्यक्ष बन्ने बाटो खुलाउन ओलम्पिक कमिटीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइने गरी विधान संशोधन गर्ने पनि उहाँ नै हो र अहिले आफू अध्यक्ष बन्न सोही प्रावधान हटाउने पनि उहाँ नै हो । खेलकुदजस्तो महत्वपूर्ण क्षेत्रलाई आफूअनुकूल यसरी मनलागी चलाउन थालेपछि हुने यस्तै भाँडभैलो हो । 

एनओसीका सम्पूर्ण सदस्यलाई सम्बोधन गरेर आएको आइओसी र ओसिएको संयुक्त पत्रको आशय के हो ? 
यस पत्रको निकै ठुलो अर्थ छ । यो कुनै कमिटीका माथिल्ला पदाधिकारीलाई आएको पत्र होइन, यो सम्पूर्ण सदस्यलाई आएको पत्र हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले संयुक्त पत्रमार्फत नेपालमा ओलम्पिक कमिटी छ, तर त्यसका पदाधिकारी छैनन् भन्ने प्रस्ट सन्देश दिएको छ । 

एनओसीको सदाबहार विवादको समाधान छैन ? 
ओलम्पिक कमिटीको विवादको समाधान नहुने कुरै छैन । तर, त्यसका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटीलगायत निकाय सबै पारदर्शी हुनुपर्छ । कुन संस्थामा कहाँकहाँबाट कति पैसा आउँछ, कहाँकहाँ कतिकति खर्च हुन्छलगायत सम्पूर्ण क्रियाकलाप पारदर्शी हुने हो भने यो विवाद सदाका लागि अन्त्य हुन्छ । अन्यथा, यो लडाइँले निरन्तरता पाई नै रहन्छ ।