मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Friday, 07 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २५ शुक्रबार o८:१२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भलिबल छाडेर अस्ट्रेलिया गइन् स्पाइकर सरस्वती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार o८:१२:oo

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर सरस्वती चौधरी अध्ययनका लागि अस्ट्रेलिया गएकी छिन् । बिहीबार अस्ट्रेलिया जानुअघि चौधरीले आफू आबद्ध नेपाल एपिएफ क्लबबाट राजीनामा दिएकी थिइन् । एपिएफले उनको राजीनामा स्वीकृत गरेको छ । यसैबिच एपिएफले उनको बिदाइ पनि गरेको छ । 

नेपाली समुदायले आयोजना गरेको एक भलिबल प्रतियोगितामा सहभागी हुन उनी अस्ट्रेलिया पुगेकी थिइन् । त्यसवेला उनी बिदा लिएर गएकी थिइन् । यसपटक भने अध्ययनको सिलसिलामा अस्ट्रेलिया जान लागेको जानकारी दिँदै राजीनामा दिएकी हुन् । 

चौधरीले नेपालले सहभागिता जनाउने अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा सहभागी हुन आउने बताएकी छिन् । साथै, एपिएफले भाग लिने प्रतियोगितामा आफू उपलब्ध हुने उनको भनाइ छ । ‘आवश्यक परे नेपाल र एपिएफबाट खेल्न आउनेछु,’ चौधरीले भनेकी छिन्, ‘अस्ट्रेलियामा केही दिनपछि कलेज सुरु हुनेछ । त्यहाँ भर्नाको प्रक्रिया अगाडि बढाउनुपर्छ ।’ टाइगर कपमा भाग लिन उनी डेढ साताअघि नेपाल आएकी थिइन् । उनले एपिएफबाट टाइगर कपमा प्रतिस्पर्धा गरेकी थिइन् । एपिएफ फाइनलमा आयोजक टाइगर ग्रुपसँग पराजित भएको थियो । सन् २०१३ मा चौधरीले राष्ट्रिय महिला टोलीमा डेब्यु गरेकी थिइन् । उनले १२ वर्ष विभागीय टोली एपिएफबाट प्रतिस्पर्धा गरेकी छिन् । उनले पछिल्लोपटक गत साउतमा काठमाडौंमै भएको काभा नेसन्स लिगमा प्रतिस्पर्धा गरेकी थिइन् । 

सागमा जितेकी थिइन् रजत
सन् २०१९ मा नेपालमै आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलमा नेपालले रजत जितेको थियो । नेपालले स्वर्ण पदक भिडन्तमा प्रतिद्वन्द्वी भारतमाथि लगातार दुई सेट जितेको थियो । त्यसवेला नेपाली महिला भलिबल टोली ऐतिहासिक स्वर्णनजिक थियो । तर, भारतले उत्कृष्ट प्रदर्शन गरी लगातार तीन सेट जित्दा नेपालले अवसर गुमाएको थियो । १३औँ सागमा स्पाइकर चौधरीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । महिला भलिबलले पछिल्लो समयमा पाएका उत्कृष्ट खेलाडीमध्ये उनी पनि एक हुन् । नेपालले दुईपटक एभिसी सेन्ट्रल जोनमा स्वर्ण पदक जित्दा उनले प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । गत साउनमा नेपाल पुलिस क्लबले काभा क्लब च्याम्पियन्सिपमा जित्दा पनि उनको योगदान महत्वपूर्ण मानिएको थियो ।  

एपिएफबाट खेल्दा उनले राष्ट्रियस्तरका लगभग सबै प्रतियोगिता जितेकी थिइन् । उनले प्रारम्भिक भलिबलको प्रशिक्षण पोखरा फिस्टेल एकेडेमीबाट लिएकी हुन् । 

भलिबल खेलाडीहरूको रोजाइ पनि अस्ट्रेलिया
विभिन्न खेलका राष्ट्रियस्तरका नेपाली खेलाडी अस्ट्रेलिया भासिने क्रम रोकिएको छैन । अस्ट्रेलिया पलायन हुने पछिल्लो उदाहरण भलिबलकी चौधरी बनेकी छिन् । दुई वर्षको अवधिमा क्रिकेट र फुटबलका राष्ट्रियस्तरका खेलाडी त्यतै पुगेका छन् । साथै, कराँते र तेक्वान्दोका दर्जनौँ खेलाडीको पहिलो रोजाइ पनि  अस्ट्रेलिया बनेको छ । फुटबलका लगभग चार दर्जन खेलाडी अस्ट्रेलियाका विभिन्न सहरमा छन् । 

अब भलिबल खेलाडीले पनि अस्ट्रेलिया रोजेको देखिन्छन् । राष्ट्रिय पुरुष भलिबल टोली तथा त्रिभुवन आर्मीका कप्तान मानबहादुर श्रेष्ठ केही समयअघि अस्ट्रेलिया पुगेका थिए । नेपालको घरेलु तथा राष्ट्रिय टोलीकै प्रमुख खेलाडी मानिने प्रतिभा माली र पुरुष खेलाडी रविन चन्द पनि त्यतै पलायन भएका छन् ।