मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
टेकराज थामी काठमाडौं
२o८१ माघ २२ मंगलबार o७:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाथीभरा केबलकार विरोध काठमाडौं आइपुग्यो, वार्ता विनानिष्कर्ष टुंगियो, आज पुनः बस्ने

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार o७:o५:oo

धार्मिकस्थल ताप्लेजुङको पाथीभरा मन्दिरलाई केबलकारले जोड्न नहुने भन्दै स्थानीयले थालेको आन्दोलन काठमाडौंसम्म पुगेको छ । ताप्लेजुङको फुङलिङमा १२ माघमा सुरु भएको आन्दोलन कोशी प्रदेशका नौ जिल्ला हुँदै सोमबार माइतीघर मण्डलामा पुगेको हो । ‘नो केबलकार’ समूहले माइतीघर मण्डलामा सोमबार दिनभर विरोध प्रदर्शन गरे ।

उनीहरूसँग वार्ता गर्न सरकारले आइतबार नै गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । आन्दोलनरत पक्षले पनि प्राज्ञ अम्बर तुम्याहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेपछि सोमबारै वार्ता पनि भयो । तर, उक्त वार्ता विनानिष्कर्ष टुंगिएको छ । आन्दोलनमा उत्रिएकाहरूले पाथीभरामा कुनै हालतमा केबलकार निर्माण गर्न नहुने भन्दै आएका छन् भने सरकार जसरी पनि बनाई छाड्ने मनस्थितिमा छ । मंगलबार बिहान ११ बजे पुनः बस्ने गरी वार्ता टुंगिएको तुम्याहाङले बताए ।

‘पाथीभरा हाम्रो पवित्र धार्मिकस्थल हो । जसलाई लिम्बू मुन्धुमअनुसार मुक्कुमलुङ भनिन्छ । यो ठाउँमा व्यापार गर्ने उद्देश्यले केबलकार निर्माण प्रक्रिया अघि बढेको छ । यो हाम्रो धार्मिक आस्थाविरुद्धको कदम हो । जसको हामी विरोधमा छौँ,’ उनले भने, ‘हाम्रो ‘बटम लाइन’ केबलकार निर्माण प्रक्रिया स्थगित हो । तर, सरकार मानिरहेको छैन । त्यसो हुँदा वार्ता सफल हुन सकिरहेको छैन ।’

सरकारी टोलीका संयोजक भट्टराईले वार्ता सकारात्मक भएको र मंगलबार बिहान थप छलफल हुने बताए । ‘उहाँहरूले केबलकार निर्माण कार्य रोक्न, काफ्लेपाटीबाट सुरक्षाकर्मी फिर्ता गर्न प्रस्ताव गर्नुभयो । हामीले जारी निर्माण कार्य रोक्न नसकिने, बरु बाँकी कामका विषयमा थप छलफल गर्ने भन्यौँ,’ उनले भने, ‘प्रहरीको नियन्त्रणमा रहेका ‘नो केबलकार’ पक्षधर कार्यकर्ता रिहाइलगायतका विषयमा हामी सकारात्मक छौँ ।’

मुक्कुमलुङ किराँती सभ्यताको पवित्र धार्मिकस्थल हो । जहाँ अहिले केबलकार निर्माण प्रक्रिया अघि बढिरहेको छ । आन्दोलनरत पक्षले आइतबार र सोमबार कोशी प्रदेशका नौ जिल्ला बन्द गरे । वार्ता सफल नभएसम्म अब काठमाडौं र कोशी प्रदेश दुवै ठाउँ आन्दोलन जारी रहने आन्दोलनरत समूहको वार्ता टोली संयोजक तुम्याहाङले बताए ।

उनले भने, ‘सरकार जबर्जस्ती उत्रिएको छ । हामीले उठाएका मागलाई प्रहरीमार्फत दबाइरहेको छ । हाम्रा साथीहरू घाइते भएका छन् । धरपकड गरिएका छन् । त्यसको विरोधमा हामीले आइतबारबाट कोशी प्रदेश बन्द गरेका छौँ । अब आन्दोलन काठमाडौंमा पनि जारी रहनेछ । वार्ता सफल नभएसम्म हामी आन्दोलनको मोर्चाबाट पछि हट्नेवाला छैनौँ ।’

१२ माघमा ‘नो केबलकार’ समूह र प्रहरीबिच भएको झडपमा प्रदर्शनकारी घाइते भएपछि पहिचानवादीहरूले ताप्लेजुङमा निरन्तर विरोध गर्दै आएका थिए । तीन घाइतेको अहिले पनि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीले १५ माघदेखि ताप्लेजुङ प्रवेश गर्ने मेची राजमार्ग र तमोर करिडोरमा यातायातका साधन बन्द गर्दै आएका छन् । पाँच दिनको अल्टिमेटम दिँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आइतबार र सोमबार उनीहरूले नौ जिल्ला नै बन्दको घोषणा गरेका हुन् ।