ठेक्का तोड्ने चेतावनीसहित निर्माण कम्पनीलाई सडक विभागको पत्र, डिजाइनअनुसार नबनेका केही संरचना पुनः निर्माण गर्नुपर्ने देखिएपछि काम रोकेर बस्यो निर्माणाधीन कम्पनी
काठमाडौं उपत्यकाको चक्रपथअन्तर्गत ललितपुरस्थित ग्वार्को चोकमा निर्माणाधीन ‘फ्लाई ओभर’ परियोजनाको निर्माण कम्पनीले एक महिनादेखि काम छाडेर अलपत्र पारेको छ । निर्माण अवधि समाप्त भएपछि १० पुसयता हर्जना तिरेर कामलाई निरन्तरता दिने जिम्मा लिएको कम्पनीले काम भने अघि बढाएको छैन ।
स्रोतका अनुसार तोकिएको डिजाइनअनुसार नबनेका केही संरचना पुनः निर्माण गर्नुपर्ने देखिएपछि निर्माणाधीन कम्पनी काम छाडेर बसेको हो । अर्कोतर्फ ठेक्का तोड्ने चेतावनीसहित निर्माण कम्पनीलाई दुईपटक पत्र लेखेको सडक विभाग जवाफ कुरेर बसेको छ । मंगलबारसम्म कम्पनीले पत्रको जवाफ दिनुपर्ने समयसीमा छ ।
ठेकेदार कम्पनी आरसी, समानान्तर र रेलिग्रे जेभीले सडक विभागसँग इपिसी (इन्जिनियरिङ, प्रोक्युअमन्ट एन्ड कन्स्ट्रक्सन) मोडेलमा सम्झौता गरी निर्माणको जिम्मा लिएको थियो । ठेक्काको म्याद गत ९ पुसमै सकिएपछि कम्पनीले हर्जना तिर्ने गरी कामको जिम्मा लिएको थियो ।
शनिबार नयाँ पत्रिका टिम निर्माणस्थल पुग्दा निर्माणसम्बन्धी कुनै पनि गतिविधि भएका थिएनन् । सोमबार नयाँ पत्रिकासँगको कुराकानीमा सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले पनि एक महिनादेखि ग्वार्काे फ्लाई ओभरको निर्माण कार्य नभएको पुष्टि गरे । यति मात्र होइन, जानकारी नदिई काम छोडेको कम्पनी सडक विभागसँग औपचारिक सम्पर्कमा छैन । जबकि ठेकेदार कम्पनीले चैत मसान्तभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो ।
फ्लाई ओभरको निर्माण कार्यले त्यहाँको ट्राफिक व्यवस्थापन पहिलादेखि नै अस्तव्यस्त छ । सवारीसाधन तथा यात्रु लामो समय जाममा बस्न बाध्य छन् । द्रुत गतिमा काम सकेर समाधान दिनुको सट्टा कम्पनीले निर्माण नै रोकेर सरकारलाई नै चुनौती दिएको छ । निर्माणकै चरणमा समस्या देखिएकाले केही भाग पुनः निर्माण गर्नुपर्ने अवस्था रहेको स्रोतको भनाइ छ, जसले फ्लाई ओभरको काम थप लम्बिनेछ ।
सडक विभागले इपिसी मोडेलमा उक्त आयोजना बनाउने गरी माघ ०७८ मा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । कम्पनीले २३ पुस ०७९ बाट निर्माण कार्य सुरु गरेको थियो । डिजाइनमा समस्या देखिएपछि त्यसको एक महिनापछि अर्थात् माघ ०७९ मै निर्माण अवरोध भएको थियो । त्यसपछि डिजाइन परिमार्जन गरेर निर्माण सुरु गरिएको थियो ।
सम्झौताअनुसार कम्पनीले १२ फागुन ०८० भित्र फ्लाई ओभरको निर्माण गरिसक्नुपर्ने थियो । तर, त्यो अवधिमा काम नसकिएपछि विभागले असार ०८१ सम्म म्याद थप गरेको थियो । त्यस अवधिमा पनि काम नभएपछि अन्तिम मौकास्वरूप ९ पुस ०८१ सम्म म्याद थप गरिएको थियो ।
तर, कम्पनीले काम सकेन र १० पुसयता हर्जना तिरेर काम गरिरहेको छ । यसमा कम्पनीले ठेक्का रकमको १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्छ, जुन एक करोड ७० लाख रुपैयाँहाराहारी हुन्छ । हर्जना लाग्ने मितिबाट दुई सय दिनभित्र कम्पनीले काम सम्पन्न गरिसक्नुपर्नेछ । यसमा जति छिटो काम सकिन्छ, त्यति कम जरिवाना लाग्नेछ ।
काम नभएपछि विभागले पहिलोपटक माघ पहिलो साता कम्पनीलाई ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनीसहित ‘नोटिस टु करेक्ट’ पत्र पठाएको थियो । त्यसको जवाफ सात दिनभित्र आउनुपर्ने थियो । त्यस अवधिमा जवाफ नआएपछि विभागले १५ माघमा दोस्रोपटक कम्पनीलाई ‘नोटिस टु करेक्ट’ पत्र पठाएको थियो, त्यसको जवाफ कम्पनीले मंगलबारसम्म पेस गर्नुपर्नेछ ।
जवाफ पेस नभएको अवस्थामा विभागले ठेक्का सम्झौता तोडेर कम्पनीलाई कालोसूचीमा समेत राख्न सक्नेछ । सोमबारसम्म औपचारिक जवाफ पेस नगरेको निर्माण कम्पनी अनौपचारिक रूपमा विभागसँग सम्पर्कमा रहेको प्रवक्ता अर्यालले बताए । ‘निर्माण कम्पनी सम्पर्कमै नभएको भन्ने होइन । जवाफ पेस गर्ने तथा कसरी काम सुरु गर्ने भनेर आन्तरिक छलफलमा भएको जानकारी आएको छ । कम्पनीबाट समयमै जवाफ पेस हुन्छ भन्नेमा आशावादी छौँ,’ उनले भने, ‘त्यसपछि काम सुरु हुन्छ भन्ने अपेक्षा छ । हामी पनि कसरी छिटो काम सक्ने भन्नेमा छौँ ।’
यसबारे बुझ्न खोज्दा ठेकेदार कम्पनीका अधिकारीले फोन उठाएनन् ।