बेलायतका राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब एक साताको निजी भ्रमणमा मंगलबार नेपाल आउँदै छन् । आइतबारदेखि भारत भ्रमणमा रहेका राजकुमार एडवार्ड (दिल्लीबाट) र सोफिया (लन्डनबाट) फरक–फरक जहाजमा काठमाडौं अवतरण हुँदै छन् ।
हाल भारत भ्रमणमा रहेका एडवार्ड नयाँदिल्लीबाट काठमाडौं उत्रेलगत्तै मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता तय भएको छ । सोफिया लन्डनबाट काठमाडौं आएर श्रीमान् एडवार्डको कार्यक्रममा सहभागी हुने कूटनीतिक स्रोतले बताएको छ ।
राजकुमार एडवार्ड बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चार्ल्स तृतीयाका कान्छा भाइ हुन् । बेलायतको राजगद्दीको उत्तराधिकारीमध्ये उनी १५औँ नम्बरमा छन् । सन् २०२५ मा नेपाल भ्रमण गर्ने उनी पहिलो अतिविशिष्ट विदेशी पाहुना हुन् ।
काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई उनी पोखरा भ्रमणमा जानेछन् । ‘निजी भ्रमणमा राजकुमारदम्पतीको भ्रमण हुन लागेको हो । राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने, सामाजिक कार्यक्रममा सहभागी हुने र पोखरा भ्रमणमा जाने उहाँहरूको कार्यक्रम तय भएको छ । ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट हुन सक्छ,’ भ्रमणबारे जानकार कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो ।
तर, परराष्ट्र मन्त्रालय उनको भ्रमणबारे केही बोलेको छैन । लन्डनस्थित नेपाली राजदूतावास स्रोतले सरकारसँगको समन्वयमा राजकुमार एडवार्डदम्पतीको भ्रमण तय भएको जानकारी दिएको छ । उनी आगामी आइतबार स्वदेश फर्किने भ्रमणतालिका छ ।
सेनाप्रमुख आएनन्
राजकुमार एडवार्डसँगै बेलायती सेनाप्रमुख (चिफ अफ द जनरल स्टाफ) जनरल रोल्यान्ड वाकर पनि आउने तयारी थियो । तर, अन्तिम समयमा उनको भ्रमण भने रोकिएको छ । ‘केही कारणले सेनाप्रमुख अहिले आउन नमिल्ने जानकारी आयो । उहाँ पनि यो भ्रमणमा सँगै भइदिएको भए, भ्रमण झनै महत्वपूर्ण हुन्थ्यो,’ कूटनीतिक स्रोतले भन्यो ।