दुई वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक रहेका मोन्टी देसाईलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ। क्यानले शनिबार सामाजिक सञ्जालमार्फत मोन्टीसँगको सम्झौता सकिएको घोषणा गरेको हो। यद्यपि, क्यानले यसअघि नै मोन्टीसँगका दुई वर्षको सम्झौता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। ‘दुई वर्षको सम्झौता सकिएपछि हामी नवीकरण नगर्ने निर्णयमा पुगेका हौँ। कार्यसमितिबाट यसअघि नै पास भइसकेको छ,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने।
मोन्टी ०७९ माघदेखि नेपाली टिमको मुख्य प्रशिक्षक थिए। यसअघि मोन्टीले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए। मोन्टीको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो।
तर, गत असारमा नेपालले आइसिसी टी–२० विश्वकप खेलेलगत्तै मोन्टीलाई हटाउने चर्चा चलेको थियो। विश्वकपमा नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग खेल्दा मात्र १ अंक जोड्यो। त्यसपछि नै मोन्टीलाई निरन्तरता दिन नहुने छलफल चलेको थियो। तर, लिग २ को मिति नजिकै भएकाले त्यससम्मलाई सम्झौता थप गरिएको क्यानका सदस्य दुर्गाराज पाठकले नयाँ पत्रिकालाई बताएका थिए।
पछिल्लो १२ मध्ये आठ खेलमा नेपाली राष्ट्रिय टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा पराजित भएपछि मोन्टी दबाबमा थिए। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल २ खेल मात्र जितेको छ। त्यसैले, आलोचना पनि हुन थालेको थियो।
त्यसअघि २ चैत ०७९ मा नेपालले १२ मध्ये ११ खेलमा अविश्वसनीय जित निकाल्दै पुनः चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो। त्यही समयमा नेपालले मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गर्यो। उनको आगमनसँगै नेपाले १२ मध्ये ११ खेल जितेको हो।