Skip This
राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि रूपेश र सिन्दिरालाई
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १९ शनिबार
  • Saturday, 01 February, 2025
२o८१ माघ १९ शनिबार १७:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि रूपेश र सिन्दिरालाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १९ शनिबार १७:५५:oo

हेटौँडामा सम्पन्न पुरुष र महिला राष्ट्रिय बुद्धिचाल च्याम्पियनको उपाधि एफएम रूपेश जैसवाल र सिन्दिरा जोशीले जितेका छन्।

प्रतियोगितामा रौतहटका रूपेश जैसवाल ९ अंक जोडेर २५औँ राष्ट्रिय चेस प्रतियोगिताको च्याम्पियन बनेका छन्। उनले योसहित दोस्रोपटक राष्ट्रिय उपाधि जितेका छन्। रूपेशले चौथो वरीयताबाट खेल प्रारम्भ गर्दै सात जित, चार बराबरी खेल्दै उपाधि जितेका हुन्। व्यक्तिगत २०९३ रेटिङबाट खेल सुरु गरेका रूपेशले ३०.२ रेटिङ बढाउँदै उत्कृष्ट रेटिङ पर्फोमेन्स २२११ बनाउन सफल भए। 

प्रतियोगितामा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोस्रो बन्दै प्रतिस्पर्धा अन्त्य गरेका छन्। उनले वर्तमान नेपाल च्याम्पियन राजन सुवेदीसँग समान ८.५ अंक बनाउँदा पुरुषोत्तमको टाइब्रेकर प्वाइन्ट ३७.२५ र राजनको ३६.२५ रह्यो। वर्तमान नेपाल च्याम्पियन झापाका राजन तेस्रो भए।

मकवानपुरका एफएम क्षितिज भण्डारीले ८ अंक बनाई चौथो स्थान प्राप्त गरेका छन् भने दोलखाका आशिष फुँयाल ७ अंक जोडेर पाँचौँ स्थानमा रहे। यस्तै, झापाका सिएम शुश्रुत दहाल ६.५ अंकसहित सातौँ, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ६ अंक आठौँ, प्रेमकृष्ण महर्जन नवौँ र ललितपुरका सुरोज महर्जन दसाैँ भए।
महिलातर्फको उपाधि वर्तमान महिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले जितेकी छिन्। ९ अंक बनाएकी सिन्दिराले प्रतियोगिताभर उत्कृष्ट खेल प्रस्तुत गर्दै उपाधि जोगाउन सफल भएकी छिन्।

महिलातर्फ पुनम प्रसाईंले ८ अंक जोडेर दोस्रो हुँदा टाइब्रेकर प्वाइन्टमा पछि परेकी बाँकेकी ईशा गिरी ८ अंक पाएर पनि तेस्रो भइन्। समान ८ अंक जोडेर पनि ३५ टाइब्रेकर प्वाइन्टका कारण काठमाडौंका एञ्जल महर्जन चौथो स्थानमा रहिन्। यसैगरी, मोरङका शान्ति धिमाल ७.५ अंकसहित पाँचौँ, झापाका कृतिसारा अधिकारी ६.५ अंकमा छैटौँ, कीर्तिपुरका विनिता कपाली ६अंक प्राप्त गर्दै सातौँ, बारा जिल्लाका सुशीला गुरुङ ५.५ अंक आठौँ, चितवनका लक्ष्मी कँडेल नवौँ र काठमाडौंका निहाना श्रेष्ठ दसाैँ भए। 

महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले उपाधि विजेता तथा दोस्रो र तेस्रो भएकाहरूलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गरेका थिए। 

प्रतियोगिता उपाधि विजेता रूपेश र सिन्दिराले काजकिस्तानमा हुने ४६औँ ओलम्पियाड र श्रीलंकामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् भने प्रतियोगिताका उपविजेताहरूले १५ हजार र तृतीय हुनेले १० हजार पुरस्कार प्राप्त गरेका छन्।