
यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालू आर्थिक ०८१/८२ को ६ महिनाका अवधिमा २९ करोड एक लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारीचालक अनुमतिपत्र वितरणलगायतबाट चालू आव ०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले २९ करोड एक लाख ७५ हजार ६५१ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालू आवको ६ महिनामा सवारीचालक अनुमतिपत्र वितरणबाट १७ करोड ३८ लाख २१ हजार १४९, सवारी करबाट चार करोड ५३ लाख ६८ हजार ३३१, यातायात क्षेत्रको आम्दानीबाट रु. चार करोड ५६ लाख ७० हजार ८११, संघीयतातर्फ एक करोड ८१ लाख २५ हजार १८० तथा बेरुजुबाट रु. आठ हजार २५० राजस्व संकलन भएको छ ।
यस्तै, चालू आवको सो अवधिमा मोटरसाइकल एक हजार २८० वटा, साना सवारी ५१३ वटा, टेम्पो-ई–रिक्सा ३३७ वटा, ठुला तथा मझौला सवारी ३२१ वटा र ट्याक्टर पाँच गरी दुई हजार ५५८ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।
यस अवधिमा नयाँ दुई हजार १६३ र वर्ग थप एक हजार ४४८ गरी तीन हजार ६११ जनालाई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।
यस्तै, सो अवधिमा दुई हजार ९८४ नवीकरण, ४९ वटा प्रतिलिपि र ३९ वटा नवीकरण र प्रतिलिपि दिइएको जनाएको छ ।
सो कार्यालयले अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार राजस्व संकलन गरेको थियो भने चार हजार ३९९ वटा सवारी साधन दर्ता गरेको थियो ।