मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १० बिहीबार १६:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पस्मिना उद्योग नेपालको पहिचान : उद्योगमन्त्री भण्डारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार १६:४१:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पस्मिना उद्योग नेपालको पहिचान भएको बताएका छन् । नेपाल पस्मिना उद्योग संघको अन्तर्राट्रिय स्तरको पहिलो तीनदिने पस्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै उनले चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पस्मिनाले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएकाले पस्मिना नेपालको पहिचान भएको बताएका हुन् ।

‘नेपाली पस्मिनाको यति राम्रो बजार छ, सीप पनि छ, विश्वबजारमा चिनाइएको पनि छ, विश्वबजारभन्दा पहिला नेपालमा चिनाउन नसक्नु चिन्ताको विषय हो, युरोप, अमेरिका, जापानलगायत देशमा बजार बनाएको पस्मिनाको थप बजार सुदृढ गर्न कच्चा पदार्थ उपलब्ध गराउने चुनौती र नीतिगत सुधार गर्नुपर्ने खाँचो छ, यसमा सरकार सुधारका काममा जुटेको छ,’ मन्त्री भण्डारीले भने ।

नेपालको धर्मराएको उद्योग क्षेत्रलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उनले सरकारले उद्योग तथा वाणिज्य र निर्यातका क्षेत्रमा बाधक देखिएका कानुनमा सुधारका काम धमाधम अगाडि बढाइसकेको बताए । छिट्टै वाणिज्य नीतिको समयसापेक्ष सुधारका लागि आगामी संसदमा पेस गरिने जानकारी दिँदै उनले साना तथा लघुउद्यमीलाई प्रोत्साहित गर्न नीतिगत व्यवस्थाका साथै एउटा छुट्टै कोषको व्यवस्था सरकारले गरिरहेको बताए ।

मन्त्री भण्डारीले भने, ‘नेपालको व्यापार र निर्यात कसरी वृद्धि गर्न सकिन्छ भन्नेमा सरकार गम्भीर छ, आर्थिक वृद्धि हासिल गर्न नेपाली वस्तुको बजार विस्तारको रणनीति अपनाउनु जरुरी छ, नेपाली वस्तुको प्रयोग गर्ने कुरालाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउनु पनि जरुरी छ ।’ उनले नेपालको पुँजी बजार र अर्थतन्त्रमा आएको निराशा चिर्न तथा व्यावसायिक सुधारका लागि सरकारले अध्यादेश ल्याएको समेत स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाली उत्पादनको गुणस्तरमा कुनै कमी नरहेको उल्लेख गर्दै नेपाली वस्तुको स्वदेश तथा विदेशमा बजारीकरणका लागि सरकार र निजी क्षेत्रबिच सहकार्यको खाँचो रहेको औँल्याए। नेपाली उत्पादनको प्रवर्द्धनमा महासंघले पनि आवश्यक सहयोग तथा सहकार्य अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।

सो उद्घाटन समारोहमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डे, पस्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेलगायतले पस्मिना निर्यातमा देखिएका समस्या समाधान तथा व्यापार विस्तारका विषयमा जोड दिए ।

छुटाउनुभयो की ?