काठमाडौं महानगरपालिकाले २९२ वटा सवारीसाधनको प्रदूषण चेकजाँच गर्दा १७४ वटा अर्थात् ६० प्रतिशत सवारीसाधनको प्रदूषण फेल भएको छ। यसमध्ये पेट्रोलबाट चल्ने ७१ वटा सवारीसाधन चेकजाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने २२१ वटा चेकजाँच गर्दा १६० वटा फेल भएका छन्।
सवारीसाधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन महानगरपालिकाले चेकजाँच गरिरहेको छ। यस क्रममा फेल भएका सवारीसाधनहरूलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ। २९ पुसदेखि थालिएको सचेतनात्मक कार्यक्रम नियमित चलिरहेको छ। यस कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभएका सवारीसाधनहरूलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको कारबाही गर्ने महानगरपालिकाको तयारी छ।
अहिलेसम्ममा कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनको परीक्षण भएको छ। चेकजाँचका क्रममा फेल भेटिएका सवारीसाधनहरूमा, सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बुलेरो, सामान बोक्ने ट्रकलगायतका सवारीसाधन छन्।