राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस बिहीबार हेर्दाहेर्दैमा राखिएको छ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बुधबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका रविलाई थुनामा राख्न माग गर्दै बिहीबारबाट थुनछेक बहस सुरु भएको छ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस सुरु हुनुअगावै जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल र पीडितहरूका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अभियुक्तलाई प्रहरी हिरासतमा पठाउनुपर्नेमा परिवार र कानुन व्यवसायीको जिम्मा लगाउनु अहिलेसम्म नभएको अभ्यास गरिएको भन्दै प्रतिवादी गरेका थिए।
बहसमा वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता वसन्तराज पोखरेल, गोकर्णराज घिमिरे, सुनील लामिछाने, पवित्र भण्डारी, सोमकान्त भण्डारी, उपन्यायाधिवक्त रवि न्यौपाने, प्रकाश मरासिनीले बहस गरेका थिए।
त्यस्तै, सरकारी वकिलहरूको बहस सकिएपछि जाहेरवाला पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। पीडितका तर्फबाट बहस गर्न रुपन्देही पुगेका अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले शुक्रबार बहस गर्ने छन्।
बिहीबार पनि उनलाई परिवारको जिम्मा लगाइएको छ। बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबार साढे १० बजे उपस्थित हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाएको जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।
सरकारी वकिलहरूले सहकारीको रकम गोर्खा मिडियामा लैजानु गलत भएको र मिडिया नै गैरकानुनी रूपमा खुलेको विषयमा बहस गरेका थिए। उनीहरूले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखेर थप प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेको जनाइएको छ। शुक्रबार जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुने बताइएको छ।