रेसुंगा नगरपालिकाको छैटाैं राष्ट्रपति रनिङ सिल्डको उपाधि रेसुंगा माविले जितेको छ । चिदीचौर खेलमैदानमा चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा रेसुंगा माविले १२ स्वर्ण, १० रजत तथा चार कांस्य गरेर २६ पदकसहित राष्ट्रपति रनिङ सिल्डको उपाधि आफ्नो पोल्टामा पारेको हो ।
विजेता रेसुंगा माविले नगद १८ हजार नगदसहित राष्ट्रपति रनिङ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र पाँच कांस्य गरेर २१ पदकसहित सिद्धबाबा माध्यमिक उपविजेता बनेको छ । आठ स्वर्ण, सात रजत र १३ कांस्य गरेर २८ पदकसहित महेन्द्र माध्यमिक विद्यालय तृतीय भएको छ ।
उपविजेता सिद्धबाबा र तृतीय महेन्द्र माविले क्रमशः १३ र नौ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका सूचना अधिकारी पीताम्बर पन्थीले जानकारी दिए ।
प्रतियोगितामा लिटिल स्टारले तीन स्वर्ण, दुई रजत र एक कांस्य, ब्रिलियन्ट युनाइडेट एकेडमीले तीन स्वर्ण, दुई रजत र ६ कांस्य, जनसहयोग माविले दुई स्वर्ण, एक रजत र दुई कांस्य पदक प्राप्त गरेका छन् ।
त्यसैगरी, भाडगाउँ माविले एक स्वर्ण, पाँच रजत र तीन कांस्य, ब्राइटर इंग्लिस बोर्डिङ स्कुलले एक स्वर्ण, दुई रजत र दुई कांस्य, रिडर्स पब्लिक हाइस्कुलले एक स्वर्ण तथा दुई कांस्य, गण्डकी इंग्लिस बोर्डिङ स्कुलले एक रजत र एक कांस्य, त्रिभुवन माविले तीन रजत र तीन कांस्य तथा भगवती माविले तीन रजत प्राप्त गरेको सूचना अधिकारी पन्थीले बताए ।
विजेतालाई विद्यालय र खेलाडीलाई जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्री र रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले सम्मान गरेका थिए ।