चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भिडियो वार्ता गरेका बेइजिङको सरकारी मिडियाले जनाएको छ।
‘सी र पुटिनले जनवरी २१ को दिउँसो बेइजिङको ग्रेट हल अफ द पिपलमा भिडियो बैठक गर्नुभएको छ,’ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ। वार्तामा के विषयमा छलफल भयो भन्नेबारे तत्काल विवरण दिइएको छैन।
चीनले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गर्न खोजेको छ। तर, बेइजिङ मस्कोको नजिकको राजनीतिक र आर्थिक साझेदार बनेको छ र युद्धको कहिल्यै निन्दा गरेको छैन। त्यसैले केही नेटो सदस्यहरूले बेइजिङलाई द्वन्द्वको ‘सहजकर्ता’का रूपमा चित्रण गरेका छन्।
दुवै पक्षले सी र पुटिनको ‘बलियो’ व्यक्तिगत सम्बन्धलाई महत्त्व दिएका छन्। सीले रुसी नेतालाई आफ्नो ‘सबैभन्दा राम्रो साथी’ भनेका छन् भने पुटिनले सीलाई ‘भरपर्दो साझेदार’का रूपमा प्रशंसा गरेका छन्।
गत महिना पुटिनलाई पठाएको नयाँ वर्षको सन्देशमा सीले विश्व शान्ति र विकासलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
‘एक शताब्दीमा नदेखिएको तीव्र परिवर्तन र अशान्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै चीन र रुस गुटनिरपेक्षता, गैरद्वन्द्व र कुनै तेस्रो पक्षलाई लक्षित नगर्ने सही मार्गमा निरन्तर अघि बढिरहेका छन्,’ प्रसारकले सीलाई उद्धृत गरेको छ।