मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Tuesday, 21 January, 2025
२o८१ माघ ८ मंगलबार १२:o६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार १२:o६:oo

पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको संख्या घटे पनि उत्पादन वृद्धि भएको हो । यस वर्ष यहाँबाट करिब रु. ६ करोडको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए ।

उनका अनुसार अदुवा बिक्रीबाट किसानले रु. पाँच करोड ९२ लाख आम्दानी गरेका छन् । १० वटा वडा रहेको त्रिवेणीमा एक हजार ९५० परिवारले अदुवाखेती गर्दै आएका छन् । प्रत्येक किसानले दुई रोपनीभन्दा बढी जग्गामा अदुवाखेती गर्दै आएका पुनले बताए । पालिकाभर हाल १९५ हेक्टर जग्गामा अदुवा उत्पादन भइरहेको उनले जानकारी दिए ।

कृषि शाखा प्रमुख पुनका अनुसार एक रोपनी क्षेत्रफलमा चार क्विन्टलभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ । पालिकाभर यस वर्ष १५ हजार ६ सय क्विन्टल अर्थात् १५.६ मेट्रिकटन अदुवा उत्पादन भएको छ । किसानले प्रतिक्विन्टल रु. तीन हजार आठ सयभन्दा बढी मूल्यमा अदुवा बिक्री गरेका उनले उल्लेख गरे ।

गत आर्थिक वर्षमा पालिकामा दुई हजार ६ सय परिवारले अदुवाखेती गर्दै आएकामा यस वर्ष उक्त सङ्ख्या छ सय ५० ले घटेरको प्रमुख पुनले बताए । व्यापारी गाउँमा पुगेर अदुवा खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । व्यावसायिक रूपमा अदुवाखेती गर्दै आएका त्रिवेणी– ४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट रु. एक लाख आम्दानी गरेको बताए । २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दा मौसममा रु. दुई लाखसम्म आम्दानी हुने जानकारी दिए ।

त्रिवेणी– ६ बाँठाकोटका कृषक कमलप्रसाद घर्तीले यस वर्ष अदुवा उत्पादन र मूल्य दुवै राम्रो पाएको बताए । अदुवा गाउँबाटै प्रतिक्विन्टल रु. पाँच हजार र बिउका लागि प्रयोग हुने अदुवा प्रतिक्विन्टल रु. १२ हजारसम्ममा बिक्री हुने गरेको जानकारी दिए । ‘पहिले एक क्विन्टल अदुवाबाट पाँच क्विन्टलसम्म उत्पादन हुन्थ्यो, अहिले उत्पादन घटेर तीन क्विन्टलसम्म हुन्छ । मौसममा आएको परिवर्तन, मल अभावलगायत कारणले उत्पादन घटेको हुन सक्छ,’ उनले भने । घर्तीले अदुवाका साथै सुन्तला र किवीको पनि खेती गर्दै आएका छन् । रासस