मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ८ मंगलबार
  • Tuesday, 21 January, 2025
२o८१ माघ ८ मंगलबार ११:५३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुई अर्ब ९५ करोडबराबरको चिया निर्यात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ८ मंगलबार ११:५३:oo

मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार (साउन–पुस)सम्ममा रु. दुई अर्ब ९५ करोड ९० लाख ३७ हजारबराबरको चिया निर्यात भएको छ ।

सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आव ०८०/८१ को सोही अवधिमा रु. एक अर्ब ९० करोड पाँच लाख ६ हजारबराबरको चिया निर्यात भएको थियो ।

भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद पक्ष रहेको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।

कार्यालयको तथ्यांकनुसार चालू आव ०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६.७ प्रतिशतले बढेको छ । चालू आवको ६ महिनामा रु. चार अर्ब ५५ करोड ७० लाख ६९ हजारबराबरको अलैँची निर्यात भएको छ । गत आव ०८०/८१ को सोही अवधिमा रु. तीन अर्ब ९० करोड ५८ लाख ०६ हजारबराबरको अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्यांकअनुसार प्लाइउड २७.९०, सिमेन्ट क्लिंकर चार हजार १४१, भेनियर सिटको निर्यात २३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ । पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालू आवको ६ महिनामा रु. १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।