हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतिसँग आज फोनवार्ता गरेकी छिन्। उपचारका लागि थाइल्यान्डको बैंककमा रहेकी परराष्ट्मन्त्रीले उतैबाट टेलिफोन गरेकी हुन् ।
इजरायल सरकार र हमासबिच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री राणाले पहिलो चरणमा नै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा. अब्देल अतिमार्फत इजिप्ट सरकारसँग आज आग्रह गरेको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।
फोनवार्ताका क्रममा परराष्ट्रमन्त्री राणाले इजरायल सरकार र हमासबिचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्ट सरकारलाई धन्यवाद दिएकी थिइन् । त्यसैगरी, इजिप्टका विदेशमन्त्री डा. अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने जानकारी दिएको परराष्ट्रमन्त्री राणालाई उद्धृत गर्दै पाठकले बताए ।
इजरायल सरकार र हमासबिच युद्धविरामको कुराकानी भएदेखि नै परराष्ट्रमन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिनकाे रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेकी थिइन् ।
केही दिनअघि मात्र परराष्ट्रमन्त्री राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरेकी थिइन् भने उनले इजरायलका विदेशमन्त्री गिडियन सारसँग फोनवार्ता गरी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरेकी थिइन् ।