जिल्ला प्रहरी कार्यालय, बाँकेले पुस महिनामा ६५ जना फरार अपराधी पक्राउ गरेको छ । बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जबाट सजाय पाए पनि फरार रहेका अपराधीलाई पक्राउ गरी सम्बन्धित अदालतमा पेश गरेको बाँके प्रहरीले जनाएको छ ।
फरार अपराधीबाट १९ वर्ष चार महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रुपैयाँ जरिवाना असूल गरिएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए । उनले पुस महिनामा लागु औषध ओसारपसारमा संलग्न २९ जनालाई पक्राउ गरिएको बताए । उनीहरूको साथबाट दुई सय ६८ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर र तीन सय ६७ ट्याब्लेट ट्रामाडोल नामक लागु औषध बरामद गरिएको बताए । लागु औषधसहित पक्राउ गरेकाहरूलाई कानूनअनुसार कारबाही गरिएको उनले बताए ।
बाँके प्रहरीले पुस महिनामा १२ लाख ९४ हजार एक सय ५८ रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको बताउँदै उनले ट्राफिक नियम उलंघन गर्ने तीन हजार ५७ सवारी साधनलाई कारवाही गरेको बताए । ट्राफिक कारबाहीबाट २४ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको बाँके प्रहरीले जनाएको छ ।
बाँके प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सातवटा ट्याक्टर, एक टिफर र एउटा जेसिबी नियन्त्रणमा लिएको छ भने तीन सवारी चालकलाई कानुनी कारबाही अघि बढाएको जनाएको छ ।
प्रहरीले पुसमा विभिन्न अपराधसम्बन्धी एक सय १७ वटा उजुरी दर्ता भएकोमा एक सय २१ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ । पुस महिनामा ६ सय ८१ वटा ठाडो उजुरी परेकोमा ६ सय ६८ वटा फर्छौट भएको प्रहरीले जनाएको छ ।
समुदाय र प्रहरी सहकार्यलाई जोड दिएको बाँके प्रहरीले पुस महिनामा मात्र ६३ वटा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । सचेतनामुलक कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा, लागु औषध, आत्महत्या र चोरीसम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको बाँके प्रहरी प्रमुख एसपी कार्कीले बताए ।