मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ७ सोमबार
  • Monday, 20 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ७ सोमबार १८:४१:oo
Read Time : > 1 मिनेट
अर्थ

कर्णाली बैंकको खराब कर्जा एकैदिन ४२ प्रतिशत पुगेको होइन : पूर्वबैंकर भट्टराई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ७ सोमबार १८:४१:oo

पूर्व बैंकर अनलराज भट्टराईले नियामक निकायको कमजोरीका कारण कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा उच्च हुन पुगेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । 

‘कर्णाली बैंकको ४२ प्रतिशत खराब कर्जा देखिँदा राष्ट्र बैंकले नियन्त्रणमा लिनुपर्यो । त्यो बेलासम्म अडिटर, रेगुलेटर कहाँ थिए ?’, भट्टराईले भने, ‘बैंकको खराब कर्जा ४२ प्रतिशत एकै दिन भएको होइन । हरेक वर्ष हुँदै आएको हो । यो व्यवस्थापनदेखि रेगुलेन्टरसम्मको कमजोरीले भएको हो ।’ 

उनका अनुसार बैंकिङ क्षेत्रको कर्जा ८९ प्रतिशत सम्पत्ति धितोमा छ । घरजग्गा धितोमा ६६ प्रतिशत छ । सम्पत्ति धितोका कर्जाहरू वृद्धि भएका छन् । अन्यमा कम हुँदै गएको छ । 
बैंकहरू अहिले दुईवटा समस्यामा रहेको उनको भनाइ छ । उनले भने, ‘पहिलो खराब कर्जा बढ्दै जाने र क्यापिटल टाइट हुँदै जाने छ । निपेक्ष नलिने समस्या छ । तरलता थुप्रिएर बसेको छ । बैंकले ऋण दिन र ऋणीले लिन नचाहने अवस्था छ । अहिले हामी क्रेडिट क्रन्चमा छौँ । यदि बैंकहरूमा तरलता अभाव भएको भए आज सार्वजनिक भएको बैंकको नाफा ४.९ भन्दा माथि हुने थिएन ।’

बैंकहरूको प्रोभिजनिङ र खराब कर्जा छुट्याउन सक्यौँ भने अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिने उनको दाबी छ । ‘जहाँ बैंकहरूमा ८ प्रतिशत पुग्न लागेको खराब कर्जालाई निराकरण गर्न सक्छौँ । बैंकहरूमा ८ प्रतिशत खराब कर्जा पुग्छ । यदि बैंकहरूमा ८ प्रतिशत खराब कर्जा पुग्यो भने प्रोभिजनिङ के गर्ने ?’, उनले प्रश्न गरे । 

उनका अनुसार बैंकले कुनै पनि समयमा दिएको ऋणलाई असुली गर्न नसक्ने अवस्था भयो भने बैंकहरूले शतप्रतिशत नाफा नोक्सान एकाउण्टमा खर्च लेख्नुपर्छ । शेयर लगानीकर्तालाई लाभांश दिन सकिँदैन । बैंकको परिस्थितिको कारणले गर्दा नाफा बाँड्न सकिएन । यो वर्ष बैंकहरूले ३१ अर्ब रुपैयाँ प्रोभिजन राखी सकेको छ । अघिल्लो वर्षदेखि हेर्दा २६७ अर्ब रुपैयाँ प्रोभिजनबाट शेयर होल्डरले पाउने नाफा र सरकारले पाउने करमा पनि असर परेको उनको भनाइ छ ।