मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ७ सोमबार
  • Monday, 20 January, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
२o८१ माघ ७ सोमबार १५:४६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८१ माघ ७ सोमबार १५:४६:oo

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– २ स्थित हिले–जलजले सामुदायिक वनमा ‘पर्यटकीय ताल’ निर्माण गरिएको छ । वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा ०७९ मंसिरमा ताल निर्माण सुरु गरिएको थियो ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हिले जलजले सामुदायिक ‘ख’ वनमा ०.४९ हेक्टर क्षेत्रफलमा ताल निर्माण गरिएको हो । निर्माण कम्पनी विजय–लोटस–तेजस्वी जेभीका गणेश मोक्तानका अनुसार ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा यस तालको बाँध निर्माण गरिएको छ । तालको भौतिक पूर्वाधार निर्माण सकेर ताल वरपर पर्खाल निर्माण गरी पानी जम्मा गरिएको छ ।

ताल निर्माणका लागि निर्माण कम्पनीसँग पाँच करोड ८९ लाख ५१ हजारमा ठेक्का सम्झौता भएको थियो । तालसहितका अन्य संरचना निर्माण गर्न १६ करोड ९४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । निर्माणाधीन पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र १८२ मिटर लम्बाइको छ । हाल सम्झौताअनुसार पहिलो चरणको निर्माण सकिएको हो।

बागमती प्रदेशस्थित पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो । डिपिआरमा तालमा डुंगा सञ्चालन तथा तालआसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राकृतिक सौन्दर्यीकरण सजावटका काम हुने जनाइएको छ ।

यस्तै तालमा परिसरमा चराचुरुंगी र वन्यजन्तुको संरक्षण गर्ने गरी तालको संरक्षण गर्ने योजना बनाइनेछ । ताल क्षेत्र वरपरका रूखमा ‘ट्री हाउस, ट्री सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ ।

प्रदेश सरकारले प्राथमिकतामा राखेको उक्त ताल निर्माणपछि दोस्रो चरणमा पार्किङ, होटेल तथा पसल सञ्चालनका लागि संरचना, टिकघरलगायतका अन्य पूर्वाधार निर्माण गरिने गुरुयोजनामा उल्लेख छ । ताल निर्माणपछि संघीय राजधानी काठमाडौंको नजिकको एक पर्यटकीय गन्तव्य तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने अपेक्षा गरिएको छ ।

जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाएको थियो । हाल बहुउद्देश्यीय परियोजनाका रूपमा सञ्चालन हुने उक्त योजनालाई क्रमागत रूपमा लगिएको काभ्रेपलाञ्चोकका सांसद गोकुल बाँस्कोटाले बताए । उनका अनुसार बनेपाको वासुकी क्षेत्र र हिले–जलजलेलाई पर्यटकीय तथा समृद्धिको आधारको प्रमुख गन्तव्य बनाउन संरचना निर्माण गर्न लागिएको हो ।

सानो पोखरीमा अवस्थित हिले–जलजलेको धार्मिक तथा सांस्कृतिक रूपले पनि महत्त्वपूर्ण छ । नगरकोटस्थित महादेव पोखरी र हिले–जलजले क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किंवदन्ती छ । यस्तै, वासुकी नाग हिले–जलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास छ । हरेक वर्ष घुम पूर्णिमा (ज्याःपुन्ही)को दिन पनौतीमा लाग्ने जात्रामा हिले–जलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्छ भन्ने मान्यता छ ।

वासुकी नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फर्कँदा पहिलाकै अवस्थामा आउने किंवदन्ती पनि रहेको पाइन्छ । वासुकी नागले पनौतीको भ्रमणका क्रममा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास छ । रासस