संयुक्त राज्य अमेरिकामा सोमबारदेखि रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रुपमा नेतृत्व सम्हाल्दै गर्दा विश्वले नै यसलाई चासोका साथ हेरिरहेको छ । ट्रम्पले अमेरिकामा एक सय वर्ष भन्दा लामो समयदेखि कार्यान्वायनमा रहेका कतिपय कानूनहरू केही दिनमै कार्यकारी आदेशमार्फत संशोधन गर्न सक्ने सञ्चारमाध्यमहरुले जनाएका छन्।
सबैभन्दा ठूलो चासो आप्रवासीहरुलाई छ । आफुले कार्यभार सम्हालेकै दिनमा ‘अमेरिकी इतिहासमै अवैध आप्रवासीको ठूलो निष्काशन’ गर्ने घोषणा ट्रम्पले गरेका थिए । मुख्यगरी यही एजेण्डामा उनले चुनाव जितेको विश्वास गरिएको छ । जसकारण उनको शासन सुरु भएलगत्तै अवैध आप्रवासीमाथि धरपटक हुने सम्भावना छ ।
ट्रम्पको नेतृत्वसँगै अमेरिकाको अध्यागमन तथा सीमा नीति, वातावरण, उर्जा तथा क्रिप्टोकरेन्सीसम्बन्धमा कार्यकारी आदेशमार्फत केही दिनमै महत्वपूर्ण संशोधनहरु हुन सक्ने बताइएको छ ।
म्याक्सिकोबाट अवैध रुपमा अमेरिकामा प्रवेश गरेर त्यहाँ ‘असाइलम’को मुद्दा लडिरहेका ७० हजारलाई म्याक्सिकोमै फर्काउने उनको तयारी छ ।
अर्काे सर्वाधिक चासोको विषय जन्मजात नागरिकताको पुरानो कानून पनि संशोधनको सम्भावना छ । हाल अमेरिकामा जन्मिएका व्यक्ति स्वतः अमेरिकी नागरिक हुने कानुनी प्रावधान छ । यो अमेरिकाको १५० वर्ष लामो संवैधानिक प्रावधान छ । यसलाई ट्रम्पले खारेज गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
स्वास्थ्य जोखिमको कारण देखाएर दक्षिणी सीमा बन्द गर्ने तथा सीमामा पर्खाल लगाउने योजना बनाएका छन् ।
त्यस्तै, आइतबारदेखि बन्द भएको टिकटकको विषयमा पनि कार्यकारी आदेशमार्फत उनले केही महिना सो निर्णय कार्यान्वायनमा स्थगन गराउने बताइएको छ ।
ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सोमबार सपथ लिदैछन्। अमेरिकामा ट्रम्पको पुनरागमनसँगै अमेरिकाको विश्व नीति पनि फेरिनसक्ने भएकाले धेरै देशले उनको पुनरागमनलाई चासोसाथ हेरिरहेका छन्।