बरहथवा सर्लाहीको लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दुधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो ।
सधैँ चियाका पारखीको भिडले घेरिरहने चियापसले हुन्– विनोद साह । लालबन्दी नगरपालिका– ९ का ४२ वर्षीय साहले चिया बेचेरै नाम, दाम र पहिचानसमेत बनाएका छन् । बिहान ४ देखि अबेर साँझसम्म उनको चिया पसल चियाका पारखीले घेरिरहेको हुन्छ । ‘दैनिक सबेरै पसलमा आउँछु, साँझ ८ बजे मात्र पसल बन्द गरेर घर फर्कन्छु, विगत १८ वर्षदेखिको मेरो दैनिकी यही हो,’ साहले भने, ‘कहिलेकाहीँ बिहान थोरै ढिला हुँदा पनि ग्राहकले गाली गर्नुहुन्छ ।’
वि.सं. ०५९ मा लालबन्दी नगरपालिकास्थित बस्तीपुरमामा रहेको जनज्योति माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु पहिला नै उनले चिया पकाउन सुरु गरेका थिए । रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका– ५ पुर्ख्यौली घर भएको साह परिवार बागमतीको बाढीले घरखेत बगाएपछि लालबन्दी बसाइँ सरेको हो । हाल बसोबास रहेको स्थान साहको मामाघर हो ।
‘घरखेत बागमतीको बाढीले बगाएपछि मामाघरका हजुरबुबाले आमाबुबालाई यतै बोलाउनुभयो,’ उनले भने, ‘त्यसपछि आमाबुबाले हरियो मकै पोलेर, बदाम भुटेर बेच्ने र त्यसबाट आएको पैसाले परिवारको गुजारा गर्नुहुन्थ्यो ।’
आमाबुबालाई सघाउँदासघाउँदै परिवारका लागि आफूले पनि केही गर्नुपर्छ भनेर चिया बेच्न सुरु गरेको साहले बताए । ‘ज्योतिषले हात हेर्दा होटेल व्यवसाय फाप्छ भनेका थिए,’ उनले भने, ‘होटेल खोल्न परिवारसँग पैसा थिएन । धेरथोर ऋण गरेर चिया व्यापार सुरु गरेँ ।’ यसैबाट परिवारको गुजारासँगै घरवास जोडेको उनले बताए । साहले बिहान सबेरैदेखि राति अबेरसम्म दैनिक झन्डै तीन सय कप चिया बेच्ने गरेको सुनाए । त्यसबाट उनले दैनिक ६ हजारसम्मको कारोबार गर्छन् ।
चियाका लागि दैनिक डेरीबाट ४० देखि ५० लिटर दुध किनेर ल्याउने गरेको साहले बताए । ‘प्रतिलिटर दुधको रु. ९० तिर्नुपर्छ,’ उनले भने, ‘एक कप चिया रु. २० मा बेच्छु ।’ उनका अनुसार पसलमा आउने धेरै ग्राहक नियमित रूपमा आउने गरेका छन् । चिया बेचेरै आफूले लालबन्दीमा १५ धुर घडेरी किनेर एकतले पक्की घर बनाएको साहले सुनाए ।
‘त्यतिवेला घडेरी किन्दा रु. एक लाख तिरेँ,’ उनले सुनाए । ‘बिस्तारै–बिस्तारै गरेर ३५ लाख खर्च गरेर घर बनाएको छु । दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाएँ । खान लगाउन अहिलेसम्म समस्या भएको छैन ।’
महिनामा एक लाख ५० हजारभन्दा बढीको कारोबार हुने गरेको उनको भनाइ छ । सुरुमा एक वर्ष चिया पसल चलाउँदा उधारो भएर घाटा लागेको साहको अनुभव छ । त्यसयता उनले फेरि जीवन गुजाराको विकल्प सोच्नुपरेको छैन । चिया पसलबाट पैसाका साथै साथीभाइ र नाम कमाएको साहको भनाइ छ । साथीभाइकै सहयोगमा पाँच महिनाअघि उनले छोरालाई उच्च शिक्षा अध्ययनका लागि जर्मनी पठाएका छन् ।
साहका अनुसार कान्छो छोरा कक्षा ११ मा र छोरी कक्षा १० मा बोर्डिङ स्कुलमा पढिरहेका छन् । चिया व्यापारकै कारण अन्य व्यापार, जागिर र वैदेशिक रोजगारबारे सोच्न नसकेको उनी बताउँछन् । लालबन्दी उनको मावली गाउँ भएकाले सबैले उनलाई भान्जा भनेर सम्बोधन गर्छन । उनी पनि चिया खान आउने साना–ठुला सबैलाई मामा भनेर सम्बोधन गर्छन् । त्यसैले साहको चिया पसल लालबन्दीभरि ‘भान्जाको चिया पसल’का नामले परिचित छ ।