राष्ट्रिय महिला तथा पुरुष बिच भलिबल प्रतियोगिताको दुवै उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । पाँच दिनसम्म सुकुटेमा चलेको सातौँ महिला तथा आठौँ पुरुष प्रतियोगितामा पुलिसले बाजी मारेको हो । विजेता दुवैले ५० हजार प्राप्त गरेका छन् ।
पुरुषतर्फ पुलिसका चन्द्रबहादुर कुँवर र सफल विकले अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका रमेश विक र बलराम चौधरीको जोडीलाई २–१ ले पराजित गरे । चन्द्र र सफलको जोडीले पहिलो सेट २१–१८ ले गुमाएका थिए । दोस्रो सेट पुलिसले २१–१४ ले जित्दै बराबरी गर्यो । निर्णायक सेटमा पुलिस १५–८ ले विजयी भएको हो । सुरुको सेट जितेपछि बाँकी दुई सेटमा सम्हालिन नसक्दा एपिएफ उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।
सुकुटे पर्यटन व्यवसायी संघ र जिल्ला भलिबल संघको संयुक्त आयोजनामा भएको १ माघबाट सुरु भएको प्रतियोगिता सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटे करिडोरमा सञ्चालन भएको थियो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी पुलिसकै कमला पुन र सफल विक घोषित भए । प्रतियोगितामा ६ वटा प्रदेशका २४ र विभागीय ११ गरी ३५ टिम सहभागी थिए ।
महिलातर्फको उपाधि भिडन्त भने पुलिस ए र बी टिमबिच भएको थियो । ‘ए’ टिमका मनीषा चौधरी र कमला पुनको जोडीले ‘बी’का पुनम चन्द र कामना विष्टको जोडीलाई सोझो सेटमा हरायो । मनीषा र कमलाको जोडीले पहिलो सेट २१–१९ र दोस्रो सेट २१–१० ले जितेको हो । दोस्रो भएका दुवै टोलीले २५ हजार नगद पुरस्कार पाए ।
पुरुषतर्फ नेपाली सैनिक क्लब ‘ए’का टीकाराज तामाङ र सूर्य परियार भए । महिलातर्फ निरुता ठगुन्ना र नेविका चौधरी तेस्रो भएका छन् । दुवैले समान १५ हजार प्राप्त गरे । पुरुषतर्फ चौथो हुने सशस्त्र प्रहरी क्लब ‘ए’का महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा महिलातर्फ सशस्त्र प्रहरी क्लब ‘बी’का रस्मिता दुरा र जसना महतोको टिमले सान्त्वना पुरस्कार १० हजार नगद प्राप्त गरे । यसअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गरेका थिए ।